धरान : प्रदेश नं १ को स्थायी राजधानी कहाँ तोकिएला भन्ने बहस पेचिलो बनिरहेको बेला प्रदेश १ को सत्तारुढ दलकी सांसद उमिता बराइलीले जनतालाई पायक(सहज) हुने ठाउँमा राजधानी हुनुपर्ने धारणा राखेकी छिन् ।
आफ्नै दल नेकपाले पनि राजधानी र नामबारे निर्णय गर्न नसकिरहेको बेला सांसद बराइलीले शनिबार धरानमा आयोजित एक कार्यक्रममा आफुहरुले १४ जिल्ला र ४५ लाख जनतालाई पायक पर्ने ठाउँमा राजधानी बनाउन सुझाव दिइसकेको बताइन् । धरानको बराह वचत तथा ऋण सहकारी संस्थाको नवौं बार्षिक साधारणसभाको उद्घाटन समारोहमा प्रमुख अतिथि रहेकी सांसद बराइलीले प्रदेशको नाम पनि संघीयता र पहिचानको भावना, मर्म अनुरुपा राख्न सरकार र पार्टीलाई पनि सुझाव दिइसकेको बताइन् ।
केही दिनअघि नेकपाको प्रदेश नं १ संसदीय समितिको बैठक बसेपनि नाम र राजधानीबारे ठोस निर्णय नभई अनिस्चितकालको लागि बैठक स्थगित भएको छ । ‘अहिले प्रदेशको नाम र राजधानीको बिषय निक्कै पेचिलो मुद्दा बनेको छ । प्रदेश १ मा १४ जिल्ला र ४५ लाख जनता छन् । राजधानी तोकिदा १४ जिल्ला र ४५ लाख जनतालाई पायक पर्ने ठाउँ हुनुपर्छ भनेर सुझाव दिइसकेका छौं,’सांसद वराइलीले भनिन्,‘प्रदेशको नाम पनि संघीयता र पहिचानको मर्म, भावना अनुसार हुनुपर्छ भनेर प्रदेशसभा, प्रदेश सरकार सबैलाई सुझाव दिइसकेका छौं ।’