धरान : चाडपर्वलाई मध्यनजर गर्दै धरानको बजार सोमबार पनि खुल्ने भएको छ । सर्वसाधारण उपभोक्ताहरुलाई चाडपर्वमा किनमेल गर्न सहजता बनाउनको लागि सोमबार पनि व्यावसायीहरुले बजार खुला गर्ने भएको हो ।
अरुबेला सोमबार धरानको बजार बन्द हुने गर्छ । दशंै, तिहार र छठ पर्वसम्मलाई सम्पुर्ण पसलहरु खुला हुने सुनसरी उद्योग वाणिज्य संघले जानकारी दिएको छ । सुनचादी व्यावसायी संघले पनि छठसम्म पसलहरु सोमबार पनि खुला गर्न आग्रह गर्दै सबै पसलहरुमा पत्राचार गरिसकेको संघका अध्यक्ष किसन मास्केले जानकारी दिए । अध्यक्ष मास्केका अनुसार धरानमा डेढ सयभन्दा बढी सुनचादी पसलहरु छन् । दशैंतिहारजस्ता नेपालीहरुको ठुलो चाडपर्व आएकोले आउदो कार्तिक २६ गतेसम्म छठ पर्वसम्म सोमबारको दिन पनि पसलहरु खुल्ने उनले बताए । ‘दशैंतिहार, छठ जस्तो पर्वहरु आएकोले सोमबार पनि बजार, पसल खुला हुन्छ, ग्राहक उपभोक्ताहरुलाई किनमेलमा सहज हुन्छ,’उनले भने ।
सुनसरी उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष विजय श्रेष्ठका अनुसार गएको सोमबारदेखि नै संघले बजार खुला गर्न आह्वान गरिसकेको छ । चाडपर्वमा किनमेल गर्न चाहने उपभोक्ताहरुलाई यसले थप राहत मिल्ने उनको भनाई छ । ‘दशैंअघिदेखि नै सोमबार पनि बजार खुला हुन्छ, यसले उपभोक्ताहरुलाई पनि राहत मिल्छ । छठ सकिएपछि मात्र फेरी सोमबार बजार बन्द हुन्छ,’उपाध्यक्ष श्रेष्ठले भने ।