धरान : हिन्दु धर्मावलम्बीहरुको चाड भनिएपनि दशैं, तिहार सबै नेपालीहरुले धुमधामसँग मनाउछन । दशैं लागेपछि नयाँ कपडा, जुत्ता खरीद गर्ने र मिठो परिकार बनाएर खाने चलन छ ।
दशैंमा लत्ताकपडा, फेन्सी कपडा, जुत्ता चप्पल तथा खाद्यान्नहरुको करोबार अत्यधिक हुनेगर्छ । त्यसैले कसैको बढी करोबार हुदा अरु बेला पनि दशैं लागेछ भन्ने गरिन्छ । यसपाली पनि दशैं नेपालीहरुको घरआँगनको संघारमा आइसकेको छ । त्यसैले सबैतिर उत्साह छाइरहेको छ । तर, व्यापारीहरुमा भने उत्साह छैन । कारोबार न्युन छ । बजारमा चहलपहल छैन । जसले गर्दा उनीहरु निराश छन् ।


धरान १२ महेन्द्र पथस्थित फेशन फाइटरकी सञ्चालिका अञ्जु श्रेष्ठ विगतमा जस्तो चाडपर्व आउन लाग्दा पनि व्यापार नबढेको भन्दै निराशा व्यक्त गर्छिन् । ‘यसपाली त व्यापार नै भएको छैन, नत्र चाडपर्वमा त असाध्यै हुनुपर्ने हो,’उनले भनिन्,‘दशैंको लागि किनमेल गर्नेहरु त्यति देखिएको छैन ।’ पछिल्ला बर्षहरुमा धरान महंगो बजार भएको गुनासो उपभोक्ताहरुले गर्दै आएका छन् । त्यसैले यहाँका उपभोक्ताहरु इटहरी, विराटनगर जोगवनीतिर किनमेल गर्न जाने गर्छन् । यसले पनि धरानको बजार खस्किएको हुनसक्ने अनुमान गरिन्छ । तर, फेन्सि व्यापारी अम्बिका श्रेष्ठ भने ग्राहकहरुलाई महंगो लागे पनि धरानको बजार सस्तो नै भएको बताउँछिन् । ‘ग्राहकलाई धरान महंगो छ भन्ने लाग्छ, तर खासमा सस्तो नै बजार छ,’उनको दाबी छ ।


सुनचादी व्यावसायी राजेश श्रेष्ठ खर्चको अनुपातमा आयस्रोत नबढ्दा व्यापार व्यावसाय पनि खस्किएको हुनसक्ने बताउँछन् । उनको भनाईसँग मिल्ने धारणा छ, सुनसरी उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष विजय श्रेष्ठको । उनका अनुसार सबै व्यावसायमा खरीदबिक्री ज्यादै न्युन छ । ‘लत्ताकपडा मात्र होइन, खाद्यान्न, जुत्ताचप्पललगायत सबै वस्तुको खरीदबिक्री ज्यादै न्युन छ । समग्रमा धरानमा २५ प्रतिशत पनि बिक्री भइरहेको छैन,’उपाध्यक्ष श्रेष्ठले भने,‘यो अवस्था धरानको मात्र होइन, सबैतिर यस्तै नै छ ।’
चाडपर्वको समयमा पनि व्यापार, व्यावसाय न्युन हुनुमा महंगी बढेको कारण भएको उपाध्यक्ष श्रेष्ठको भनाई छ । संघीय, प्रदेश र स्थानीय सरकारले विभिन्न शिर्षकमा कर लगाएको र ढुवानी खर्च पनि बढेको कारण महंगी बढेको उनले बताए । ‘सरकारले व्यावायीमा कर बढाउछ, व्यावसायीले त्यो कर वस्तुमा लगाउछन्, र त्यसको असर उपभोक्तामा पर्छ,’उनले भने,‘सरकारको ध्यान कर असुल्नमा मात्र ध्यान छ । खरीद गर्ने क्षमता नभएर व्यापार, व्यावसाय खस्केकोमा ध्यानै छैन ।’
धरानबाट दशैंको बेला किनमेल गर्न विराटनगर हुदै सिमापारी जोगवनीमा धेरै जाने गर्छन् । यो कारणले गर्दा पनि धरानको बजार खस्किएको हो ? भन्ने प्रश्नमा सुनसरी उद्योग वाणिज्य संघका उपाध्यक्ष श्रेष्ठ भन्छन्,‘कपडा, खाद्यान्न किन्न जोगवानी जाने गरेको साँचो हो, तर त्यसले विराटनगर, धरानलाई मात्र असर गर्नुपर्ने हो, अहिले व्यापार मन्दी त सबैतिर छ । त्यसैले यो जनताको आयस्रोत नबढ्ने, महंगी मात्र बढ्ने गरेकोले भएको हो ।’