धरान :  नेपाली साहित्यप्रेमीहरुको लागि प्रकट पगेनी शिव कुनै नौलो नाम होइन । साहित्यको गजल विधामा प्रकट पगेनीको नाम अत्यन्तै सम्मानले लिइन्छ ।
उनलाई प्रणय गजलको वादशाहकोरुपमा पनि चिनिन्छ । पोखराका उनै श्रष्टाका सृर्जनाहरु आउदो शनिबार(असोज २७ गते) धरानमा सशुल्क प्रत्यक्ष सुन्न पाइनेछ । धरान १३ स्थित साहित्य, कला सँस्कृति प्रतिष्ठानले लोकप्रिय श्रष्टा प्रकट पगेनीलाई गजल एवं साहित्य पारखीहरुको माझ उभ्याउन लागेको हो । दुवै मृगौला खराब भई उपचाररत रंगकर्मी, साहित्यकार एवं पत्रकार प्रविण राईको सहयोगार्थ कार्यक्रम हुन लागेको हो ।
कार्यक्रमको नाम धरानमा प्रकटका प्रणय गजलहरु राखिएको छ । गजल कार्यक्रमको न्युनतम शुल्क एक सय रुपैया राखिएको छ । धरान ८ स्थित गोर्खा डिपार्टमेन्ट स्टोरको हलमा हुने कार्यक्रममा वडा नं १३ का बासिन्दाहरुले आर्थिक सहयोग गरेका छन् । ‘गजलका लोकप्रिय श्रष्टालाई पहिलो पटक पुर्वमा ल्याउदैछौं, यसले धरानमा गजल लेखन, गायनको वातावरण सृर्जना हुन्छ र धराने श्रष्टालाई पनि उर्जा प्रदान हुन्छ भन्ने आशा छ,’प्रतिष्ठानका संयोजक गोपाल श्रेष्ठ प्रयासले भने ।