चीनले अन्तर्राष्ट्रिय प्रहरी निकाय इन्टरपोलका प्रमुख मेङ होङ्वेई आफ्नो नियन्त्रणमा रहेको पुष्टि गरेको छ। प्रस्ट नपारिएको कानूनको उल्लङ्घनबारे भ्रष्टाचार नियन्त्रणसम्बन्धी निकायले उनीमाथि अनुसन्धान गरिरहेको बेइजिङले जनाएको छ।
चीनको सार्वजनिक सुरक्षासम्बन्धी उपमन्त्री रहिसकेका मेङ फ्रान्सस्थित इन्टरपोलको मुख्यालयबाट सेप्टेम्बर २५ मा चीन गएपछि बेपत्ता भएका थिए। तत्काल लागु हुने गरी अध्यक्ष पदबाट मेङको राजीनामापत्र आइतवार प्राप्त भएको इन्टरपोल जनाएको छ। सार्वजनिक पद धारण गरेका मानिसहरूले गर्ने भ्रष्टाचारबारे अनुसन्धान गर्ने राष्ट्रिय सुपरिवेक्षण आयोगले मेङमाथि अनुसन्धान भइरहेको आफ्नो वेबसाइटमा राखेको एउटा विज्ञप्तिमा उल्लेख गरेको छ। चीनमा बेपत्ता हुनेमा मेङ पछिल्लो चर्चित व्यक्ति हुन्। पछिल्ला महिनाहरूमा उच्च सरकारी अधिकारीहरू, अर्बपति र लोकप्रिय व्यक्तित्वहरू बेपत्ता भएका छन्।

इन्टरपोलले के भनेको छ ?
सामाजिक सञ्जाल ट्विटरमा राखेको एउटा वक्तव्यमा इन्टरपोलले तत्काल लागु हुने गरी मेङको राजीनामापत्र प्राप्त भएको जनाएको छ। आफ्नो प्रावधान अनुसार उसले हाल उपाध्यक्ष रहेका दक्षिण कोरियाली नागरिक किम जङ याङलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको छ।

आगामी महिना दुबईमा हुने इन्टरपोलको महासभाले बाँकी दुई वर्षे कार्यकालका लागि अध्यक्ष चयन गर्नेछ। मेङको कार्यकाल सन् २०२० सम्मका लागि थियो। इन्टरपोलले मेङको अवस्थालाई लिएर आफू चिन्तित बनेको भन्दै उनीबारे स्पष्ट पार्न चीनलाई शनिवार आग्रह गरेको थियो। अनुसन्धान थालिसकेको बताएको फ्रान्सले आफूसँग थप जानकारी नभएको आइतवार बताएको थियो।

मेङकी श्रीमतीले के भनिन् ?
चीनले हिरासतमा लिएको पुष्टि गरे लगत्तै बोल्दै ग्रेस मेङले आफ्ना श्रीमान् खतरामा रहेको आफूलाई लागेको पत्रकारहरूलाई बताइन्। आफ्ना श्रीमान्‌को अवस्था पत्ता लगाउनका लागि सघाइदिन उनले अन्तर्राष्ट्रिय समुदायलाई आइतवार एउटा भावुक अपील गरेकी थिइन्। बेपत्ता भएको दिन मेङले सामाजिक सञ्जालमा ुमेरो फोनको प्रतीक्षा गर्नूु भन्दै चक्कुको चिह्नसहितको आफूलाई सन्देश पठाएको उनले बताइन्। उनले भनिन्, ूउहाँलाई के भएको छ भन्ने कुरा मलाई थाहा छैन। मेङ होङ्वेईकी श्रीमती ग्रेस मेङ
सुरक्षाका कारण मुख नदेखाइ आँसु थाम्दै उनले चिनियाँ र अङ्ग्रेजी भाषामा लेखिएको एउटा वक्तव्य पढिन्।
हामी सधैँ मुटुहरूले जोडिएका छौँ। यो विषय निष्पक्षता र न्यायसँग जोडिएको छ। यो विषय अन्तर्राष्ट्रिय समुदायसँग जोडिएको छ। यो विषय मेरो मातृभूमिका मानिसहरूसँग जोडिएको छ।

बि.बि.सि बाट साभार गरिएको