धरान : सुलभ वचत तथा ऋण सहकारी संस्था लिमिटेको १० औं बार्षिक साधारणसभामा उत्कृष्ट कर्मचारी, वचतकर्ता र बजार प्रतिनिधिहरुलाई चाँदीको मेडलद्धारा पुरस्कृत गरिएको छ ।
सुलभले सोमबार आफ्नो १० औं बार्षिक साधारणसभा मनाउने क्रममा आफ्ना उत्कृष्ट कर्मचारी, बजार प्रतिनिधि र वचतकर्तालाई प्रोत्साहन एवं कदर स्वरुप चाँदीको मेडल प्रदान गरेको हो । धरान १६ स्थित गुरुङ बिबिक्युमा आयोजित साधारणसभामा संस्थाका अध्यक्ष अर्जुनकृष्ण श्रेष्ठ र प्रमुख अतिथि अबइन्द्र निरौलाले चादीको मेडल, कदर पत्रद्धारा उत्कृष्ट कर्मचारी, वचतकर्ता र बजार प्रतिनिधिहरुलाई पुरस्कृत गरेका थिए ।  चादीको मेडल पाउने उत्कष्ट बजार प्रतिनिधिहरुमा सविना गुरुङ, हिमाल कुमारी लिम्बू, झरना श्रेष्ठ र कल्पना श्रेष्ठ रहेका छन् । यस्तै, उत्कृष्ट वचतकर्ताकोरुपमा सुनिता श्रेष्ठ, नरेन्द्र श्रेष्ठ र धनबहादुर गुरुङलाई पनि चादीको मेडल, कदर पत्रद्धारा पुरस्कृत गरिएको थियो भने संस्थाका उत्कृष्ट कर्मचारी निमेषकृष्ण श्रेष्ठ, सविना ताम्राकार र सपना श्रेष्ठलाई पनि पुरस्कृत गरिएको थियो । यसैगरी, संस्थालाई योगदान पुर्याएको भन्दै भूपू उपाध्यक्ष निलिमा श्रेष्ठ र विकास चाम्लिङ राईलाई पनि चाँदीको मेडल, प्रमाणपत्रद्धारा सम्मान गरिएको थियो ।

सुलभलाई ४ लाख मुनाफा
केही समयअघिसम्म व्यवस्थापकीय समस्याको कारण निरन्तर घाटामा गएको सुलभ सहकारीले पछिल्लो बर्षहरुमा भने मुनाफा कमाउन थालेको छ । साधारणसभाको उद्घाटन सत्रमा प्रगति प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष श्रेष्ठले गत आर्थिक बर्षमा ४ लाख ७१ हजार ६ सय ४० रुपैया मुनाफा कमाएको जानकारी दिए । उनले सेयर पुजी ३९ लाख ८२ हजार ५ सय पुर्याएको जानकारी गराउदै आगामी दिनमा ५० लाख पुर्याउने पनि घोषणा गरेका छन् ।
दश बर्षअघि ३२ जना सेयर सदस्यबाट शुरु भएको सुलभमा हाल ४ सय ६६ जना सेयर सदस्य रहेका छन् । ‘हामीले धितो लगानीको शुरुवात गरेका छौं, सेयर सदस्य र सेयर पुजीमा वृद्धि गरेका छौं,’अध्यक्ष श्रेष्ठले भने,‘आगामी दिनमा पनि सेयर सदस्य थप गरेर सेयर पुजी ५० लाख बनाउछौं, रेमिटेन्स सुविधा सञ्चालन गछौं र मोवाइल बैंकिङ सुविधा पनि भित्र्याउछौं ।’

नयाँ सञ्चालक समिति चयन
संस्थाको आइतबार सम्पन्न साधारणसभाले पुनः अर्जुनकृष्ण श्रेष्ठको अध्यक्षतामा ७ सदस्यीय नयाँ सञ्चालक समिति सर्वसम्मत चयन गरेको छ । समितिको उपाध्यक्षमा लक्ष्मी राई र सदस्यहरुमा पंकजकुमार यादव, वीरेन्द्रकुमार साह, श्यामकृष्ण श्रेष्ठ, श्री शाही र देवीकुमार श्रेष्ठलाई पनि सर्वसम्मत चयन गरेको हो । यसैगरी, सोही सभाबाट लेखा संयोजकमा अञ्जु श्रेष्ठ चयन भएकी छन् भने सदस्यहरुमा हिमालकुमारी लिम्बू र गीता सिकर्मी चयन भएकी छिन् ।