ब्लाष्ट टाइम्स : धरानबाट प्रकाशन हुने ब्लाष्ट टाइम्स दैनिकले “लाखौं उठाएर इन्भेष्टमेन्टका सञ्चालक फरार” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ । विभिन्न प्रलोभनमा स्थानीयबाट लाखौं रकम उठाएर इटहरीमा रहेको जरनिन इन्भेष्टमेन्टका सञ्चालक फरार भएका छन् । नेपालीहरुको ठूलो पर्व दशैंको मुखमा विना धितो पाँच लाखसम्म क्रण दिने भन्दै सर्वसाधरणबाट उठाएको करिब ५० लाख लिएर सञ्चालक फरार भएका हुन् ।

इटहरी–८ स्थित पश्चिम गैसारनजिक खोलिएको कार्यालयबाट ‘विना धितो’ क्रण दिने भन्दै सर्वसाधरणबाट उठाएको रकम लिएर सञ्चालक अजय यादव र स्नेहा यादव फरार भएपछि स्थानीयको कन्तविजोग भएको छ । क्रण लिन पुग्नेहरु आफूहरु ठगिएको भन्दै उजुरबाजुरमा लागेका छन् ।


फास्ट टाइम्स : धरानबाट प्रकाशन हुने फास्ट टाइम्स दैनिकले “धरानमा जथाभावी ठेक्कै–ठेक्का ढुवानी गर्दा पनि कर जनताले बनाएको सडकमा पनि कर” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ । 

धरान उपमहानगरपालिकाले ठेकेदारहरुलाई रिझाउनका लागि संविधान र ऐनमा तोकिए भन्दा फरक–फरक हिसावले ठेक्का लगाउन थालेको छ । संविधानमा नलेखिएको कवाडी करलाई जडिबुटी संकलन भनी हरेक ट्रकमा पचास हजार लिइरहेको उपमहानगरले ढुवानी सवारी पार्किङ र पूर्वाधार सडक सेवा शुल्क भनेर अरु कर पनि उठाउन थालेको छ ।


मर्निङ टाइम्स : धरानबाट प्रकाशन हुने मर्निङ टाइम्स दैनिकले “पेन्सन पकाएका लाहुरे बंगुर पालनमा” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ । बेलायती गोर्खा सेनाबाट उनले पेन्सन मात्र पकाएनन् । ब्रुनाईको सुल्तानका सुरक्षा सेनामा समेत सेवा गरे । अफगानिस्तानको खतरामा समेत सुरक्षा सेवा गर्न भ्याएका उनी अहिले पनि आराम गरिरहेका भने छैनन् ।

विदेशमा गरेको मिहेनतले उनलाई त्यस्तो मिहेनति आफ्नै देशमा गरे माटोमा सुन फलाउन सकिन्छ भन्ने अनुभव गरायो । काम गर्नु भनेको आफ्नो सुख सुविधाका लागि मात्र होइन । अरुका लागि उदाहरण बन्न र आफ्नै देशमा योगदानगर्नका लागि पनि हो । भन्ने उदाहरण बनेका छन् धरानका एक पूर्व गोर्खा सैनिक पुण्यबहादुर राई ६५ वर्षीय पुण्यबहादुर राई बायीङ बंगुरपालन तथा कृषि फार्मका संचालक हुन् ।


औजार दैनिक : धरानबाट प्रकाशन हुने औजार दैनिकले “भोलि देखि रुट परमिट खारेज देशभर जहाँ सुकै जान पाउने नयाँ व्यवस्था” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ । दशैंका लागि लामो दूरीमा सडकमा सार्वजानिक यातायातको संख्यामा कमी हुन थालेपछि वषैंदेखि ग्यारेजमा थन्किएका सवारी बसपार्कमा निकालिएको छ । यातायात व्यवस्था विभागले असोज २४ गते बुधबारदेखि देशभर जुन सवारी जहासुकै जान पाउने गरी रुट परिमट खारेज गर्ने घोषणा गरिसकेको छ ।

वर्ष दिनसम्म विभिन्न पेशा व्यावसायमा संलग्न भई राजधानीलगायत ठूला शहरमा बसेका मानिस राष्ट्रिय पर्व मनाउन घर जाने तयारीमा छन् । घर जाने तयारी गरेका यात्रुले सवारीको टिकट नपाएपछि विभागले रुट परमिट खारेज गर्ने निणर्य गरेको हो ।


उद्घोष दैनिक : विराटनगरबाट प्रकाशन हुने उद्घोष दैनिकले “राजधानी र नामकरण अधुरै” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ । प्रदेश १ को स्थायी राजधानी र नामकरण अधुरै छाडेर प्रदेशरभाको चालु वर्षे अधिवेशन अन्त्य गर्ने विषयमा प्रदेशसभाभित्रका दलहरु सहमत भएका छन् । मुख्यमन्त्री शेरधन राईले असोज २८ गतेसम्म प्रदेशसभा बैठक लम्याएर जारी बर्षे अधिवेशनमै नाम र राजधानी टुंगो लगाउने प्रस्ताव गरेका थिए । तर दलहरुले हतारमा निर्णय गर्न नहुने सुझाव दिएपछि चालु संसद अधिवेशनको आज अन्तिम दिन हुने निश्चित भएको हो ।

सरकारले गत साउनभित्रै प्रदेशको राजधानी र नाम टुंगो लगाउने प्रतिबद्धता जनाएको थियो । पुन : असोज १५ भित्र टुंगो लगाउने भनिएपनि अन्तत : सरकारको प्रयास बिफल भएको छ ।