धरान : प्रदेश नं १ को संसदमा मंगलबार मुख्यमन्त्री शेरधन राईले पत्रकारहरुप्रति असन्तुष्टी जनाउदै दिएको अभिव्यक्तिले विवादमा तानिएका छन् ।
सदनलाई सम्बोधनको क्रममा विवादित अभिव्यक्ति दिएपछि विराटनगर केन्द्रीत मोरङ, झापा र सुनसरीका पत्रकारहरुले सामाजिक सञ्जालमा चर्को विरोध जनाएका छन् । मुख्यमन्त्री राईले स्थायी राजधानी र प्रदेशको नामकरणबारे आएको समाचारहरुबारे असन्तुष्टी जनाउदै पत्रकारहरुप्रति रोष प्रकट गरेका थिए । लगत्तै पत्रकारहरुले सामाजिक सञ्जालमा मुख्यमन्त्री राईको चर्को आलोचना गर्न शुरु गरेका थिए । नयाँ पत्रिका आवद्ध पत्रकार गणेश लम्सालले मुख्यमन्त्री राईको सम्बोधनलाई नेपाली पत्रकारिता र संवैधानिक हक अधिकार अनुसार प्राप्त भएको स्वतन्त्र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी कार्य भएको भन्दै सामाजिक सञ्जाल फेसबुकमा विरोध जनाए । प्रदेश सभाको सम्मानित सदनको रोष्टमबाट आम पत्रकारहरुलाई सपनामा देखेर लेख्नेहरु, गैरव्यवसायिक र स्तरहिन चरित्र प्रर्दशन गरेर भाँजो हाल्नेहरु भन्दै मुख्यमन्त्री राईले गाली गरेको बिषय कुनै एक पत्रकार, मिडिया, मन्त्री वा सांसदबीचको बिषय मात्र नभएको पत्रकार लम्सालले लेखेको छन् । ‘म यसमा एउटा सक्रिय श्रमजिवि पत्रकार भएको नाताले खेद प्रकट गर्दछुँ, र उच्चस्तरका सार्वजनिक पद धारण गर्ने व्यक्तिबाट गरिमामय सभाको बैठक भित्रैबाट पहिलो पल्ट तुच्छ प्रकारको गाली खानु परेकोमा आफ्नो व्यावसायिक पत्रकारिताप्रति ग्लानी गर्दै दुःख प्रकट पनि गर्दछुँ,’फेसबुकमा उनले लेखेका छन् ।
झापाका पत्रकार उमाकान्त खनालले मुख्यमन्त्रीको सम्बोधनलाई लक्षित गर्दै दल बिशेष पत्रकारका संगठन विघटन गरेर सडकमा आउन फेसबुकमार्फत आह्वान गरे । उनले लेखेका छन्, ‘राजनीतिक दलका नेताले उनीहरुको स्वार्थ पुरा हुदा मात्र तपाईलाई पत्रकार गन्छन्, नत्र कलम भाँच्न यिनीहरु अगाडि आउछन्, महासंघ दलको पुच्छर नबनोस् ।’ खनालको स्टाटसमा टिप्पणी गर्दै सुनसरीका पत्रकार मिलन विछोडले मुख्यमन्त्रीको भनाईले मन अमिलो बनाएको लेखेका छन् । ‘म कुनै दलको झण्डा र वाद मुनि छैन दाई । म सबै विचारको समर्थक रहन नसकेपनि सम्मान चाहि गर्छु । आज मुख्यमन्त्रीले बोल्नुभएको भनाईले मन अमिलो बनाएको छ,’उनले टिप्पणी गरेका छन् ।

 Screenshot_2018-10-09-15-49-14

यस्तै, प्रेस युनियन मोरङका अध्यक्षसमेत रहेका अन्नपुर्ण पोष्टका ब्युरो प्रमुख कुमार लुँइटेलले पनि मुख्यमन्त्री राईबाट आम पत्रकारप्रति लक्षित आक्रोश र भनाई अपेक्षा नगरिएको र खेदजनक बिषय भएको प्रतिक्रिया दिएका छन् । व्यावसायिक पत्रकार भएको नाताले मुख्यमन्त्री राईले आम सञ्चारकर्मी र पत्रकारलाई लक्षित गरी लगाएको आरोप र कटाक्ष सकरात्मक नलागेको भन्दै उनले लेखेका छन्,‘मुख्यमन्त्री ज्यु प्रदेश बनाउने सपना तपाईले देख्नुभएको छ, जुन तपाईको नीति तथा कार्यक्रमको बिषय पनि हो । तपाईले देखेका सपनालाई मुर्त र सार्थक पार्न सकेको भुमिका हामी पत्रकार र आमसञ्चारकर्मीले पनि निर्वाह गर्ने हो । हामी सपना देखेर होइन सत्य, तथ्य र निष्ठामा आधारित पत्रकारिता गछौं भन्ने होक्का राख्नोस् । नाम र राजधानी टुंग्याउन नसक्नु पत्रकारको कमजोरी होइन ।’
सम्बोधनमा के भनेका थिए मुख्यमन्त्री राईले ?
मुख्यमन्त्री राईले मंगलबार सदनमा आधा घण्टा भन्दा बढी समय सम्बोधन गरेका थिए । त्यसक्रममा करिब १० मिनेट जति पत्रकारहरुप्रति खनिदै राईले गाली गरेको नेकपा निकट पत्रकार गणेश लम्सालले बताए । ‘कुन मिडियाले वा पत्रकारले के लेख्यो, त्यो बिषयमा छलफल गर्दा हुन्छ, वा विज्ञप्तीमार्फत आफ्नो भनाई राख्दा हुन्छ । कसैले पनि मुख्यमन्त्रीलाई लाञ्छना लाउने गरी त लेखेको थिएन नि, तर भद्र भनेको मुख्यमन्त्रीले आज राज्यको एउटा अंकमाथि जुनशैलीमा बोल्नुभयो, त्यो निन्दानीय छ,’लम्सालले मुख्यमन्त्रीको भनाई उदृत गर्दै भने,‘प्रदेशको स्थायी राजधानी र नामकरणको बिषयमा पत्रकारहरुले जथाभावी लेखेर हल्का बनायो, यसमा दुःख व्यक्त गर्दछु । सपनामा देखेर होइन, सत्यतथ्य लेख्नुस्, कल्पना, सपनामा देखेर होइन । स्तरहीन चरित्र प्रर्दशन नर्गनुस् ।’

Screenshot_2018-10-09-15-48-38