धरान : गत माघ १८ गते धरानको सर्दु खोलामा पुल निर्माण कार्य शुरु भएपछि विवाद पनि शुरु भयो । प्रस्तावित मदन भण्डारी राजमार्ग कायम हुदा धरान–चतरा सडकखण्डको धेरै जसो घरको उठिबास लाग्ने भन्दै तत्काल पुल निर्माण कार्य रोक्नुपर्ने माग धरानतर्फका बासिन्दाहरुको थियो ।
अर्कोतर्फ पटनाली, भरौल, कालाबञ्जारतिरका बासिन्दाहरु भने कुनै पनि हालतमा सदुर्जमा पुल बन्नुपर्छ भन्ने पक्षमा थिए, जो बषौंदेखि सर्दुमा पुल नहुदा बर्षातको समयमा जोखिमपुर्ण यात्रा गर्न बाध्य थिए । शिक्षा, स्वास्थ्य, व्यापारको लागि धरानमा निर्भर रहेका बराहक्षेत्र, साविक भरौल, कालाबञ्जारका बासिन्दाहरुको लागि सर्दु खोला अभिषाप जस्तै भइसकेको थियो । असार, साउन, भदौंका महिनाहरुमा सर्दुमा निरन्तर बाढी आइरन्छ, जतिबेला जोखिम मोलेरै आवतजावत गर्न बाध्य हुन्छन् । विरामी बोकेका एम्बुलेन्सजस्ता अत्यावश्यक सेवाका साधनहरुलाई पनि सर्दु खोलाको बाढीले निक्कै सताएको छ ।

sardu2


अब भने साविक भरौल र बराहक्षेत्रका बासिन्दाहरुलाई सर्दुको बाढीबाट मुक्ति मिल्दैछ । धरानसँगै बराहक्षेत्र नगरपालिकाको लागि प्रमुख समस्या बनेको धरान १७ स्थित सर्दु खोलामा धमाधम पक्की पुल निर्माण भइरहेको छ । आगामी पुष महिनासम्म यो पुलको स्ट्रक्चर तयार हुनेछ भने चैतसम्ममा फिनिसिङको काम भएर नयाँ बर्ष अर्थात २०७६ सालदेखि भने पुल सञ्चालनमा आउने निर्माण कम्पनी रसुवा कन्स्ट्रक्सनले जानकारी दिएको छ । ‘अर्को बर्षामा विगतमा जस्तो सर्दुले दुःख दिनेछैन, बर्खा अघि नै पुल सञ्चालनमा आइसक्छ,’रसुवा कन्स्ट्रक्सनका सुपरभाइजर रामहरि रिमाल भन्छन्,‘नयाँ बर्षमा यो पुल उपहार जस्तै हुन्छ, बैशाखमा नै तयार भएर पुलमा गाडीहरु चल्न शुरु भइसक्छ ।’
सुपरभाइजर रिमालका अनुसार नयाँ प्रविधि ‘बक्स गडर’मा आधारित भएर सर्दु खोलाको पुल निर्माण भइरहेको छ । नेपालमा करिब ३ बर्ष अघि मात्र यो प्रविधिले प्रवेश पाएको हो । कुल ५ वटा स्ल्याब निर्माण हुने सर्दुको पुलमा अहिलेसम्म ३ वटा निर्माण भइसकेको छ भने चाडै २ वटा पनि निर्माण सकिनेछ । ‘पुषसम्ममा स्ट्रक्चरको काम सक्छौं, र त्यसपछि फिनिसिङको काम गछौं, आउदो नयाँ बर्षमा त पुलमा गाडी नै चल्न शुरु भइसक्छ,’रिमाल भन्छन् । सर्दु खोलामा २ सय ५० मिटर लम्बाई र साढे १० मिटर चौडाईको पुल निर्माण भइरहेको हो ।

ठकुरी र पटनाली खोलामा पनि बन्दैछ पुल

thauri khola


धरानको वडा नं १७ स्थित रेल्वे चोक हुदै पश्चिमतर्फ अघि बढ्दा सर्दु खोला पुग्नुअघि नै अर्को खोला आउछ, जसलाई ठकुरी खोला भनिन्छ । यो खोलामा पनि पुल नहुदा बर्षाको समयमा धरानबासीले निक्कै सास्ती झेल्नुपथ्र्यो । अहिले यो खोलामा पनि धमाधम पुल निर्माण भइरहेको छ ।
यस्तै, वडा १७ मा नै पर्ने पटनाली खोलामा पनि पुलको दुई वटा पिलर ठडिइसकेको छ । सर्दुको पुलसँगै ठकुरी र पटनाली खोलाको पुल पनि रसुवा कन्स्ट्रक्सनले निर्माण गरिरहेको हो । निर्माण कम्पनीका अनुसार सर्दुको पुलसँगै ठकुरी र पटनाली खोलामा निर्माणाधिन पुल पनि आगामी नयाँ बर्ष २०७६ को शुरुवातसँगै सञ्चालनमा आउनेछ । रसुवाका सुपरभाइजर रिमाल भन्छन्,‘आगामी नयाँ बर्षमा सर्दुसँगै ठकुरी र पटनाली खोलाको पुल पनि तयार भइसक्छ, अर्को बर्खामा समस्या हुदैन ।’
धरानको वडा नंं १७ का अध्यक्ष मनोज भटराईका अनुसार ३ वटा पुल तयार भएपछि भरौल, कालाबञ्जार, बराहक्षेत्र(चतरा)का बासिन्दाहरुलाई मात्र होइन, कोशी पारी उदयपुर बेलका नगरपालिकाका बासिन्दाहरुलाई पनि धेरै राहत पुग्नेछ । हाल बराहक्षेत्र नगरपालिका(साविक भरौल, बराहक्षेत्र गाविस) र बेलका नगरपालिकाका बासिन्दाहरुलाई शिक्षा, स्वास्थ्य, व्यापारको लागि धरान आउन सहज हुनेछ भने धरानलाई शिक्षा, स्वास्थ्य, व्यापारको हबकोरुपमा विकास गर्ने अध्यक्ष भटराईले बताए ।

sardu3

sardu6