ब्लाष्ट टाइम्स : धरानबाट प्रकाशन हुने ब्लाष्ट टाइम्स दैनिकले “वनको जग्गा मारुती सिमेन्टद्वारा कब्जा ” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ । सिराह गोबजार नगरपालिका अन्र्तगतको एक सामुदायिक वनको जग्गा मारुती सिमेन्छ कारखानाले कब्जा गर्न खोजेको छ । नगरपालिकाका वडा नम्बर ९ र १० मा पर्ने जग्गा सिमेन्ट उद्योगले वन कर्मचारीकै मिलेमतोमा कब्जा गर्न खोजेको स्रोत बताउँछ । जोभा प्राकृतिक सामुदायिक वन उपभोक्ता समूहको जग्गा उद्योगले शुक्रबार प्राविधिकसहितको टोलीले माटो परीक्षण गर्नका लागि मेसिनसहित उत्खनन्को प्रयास गरिरहेका बेला स्थानीय तथा नरहा गाँउपालिका–३ का वडाध्यक्ष मिलेर रोकेका थिए ।


फास्ट टाइम्स : धरानबाट प्रकाशन हुने फास्ट टाइम्स दैनिकले “एक हप्तामै पाँच युवतीको उद्धार” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ ।  जविनभरि सुख दिन्छु विवाह गर्छु भन्दै भारत बेच्न लगिएकी जाजरकोटकी १५ वर्षीय युवतीलाई प्रहरीले असोज १६ गते दार्जिलिङबाट उद्धार गर्यो । चौध वर्षको उमेरमा नै विवाह गरेकी उनलाई चार महिनाको नवजात शिशुसहित माइती नेपाल ,प्रहरी र सामुदयिक प्रहरीले उद्धार गरेर अहिले सपिमूलक तालिम दिँदै छ । माइती नेपालको कार्यालयमा भेटिएकी ती युवतीले श्रीमानले दिन र रात रक्सी खाएर झगडा गर्ने गरेपछि माइत बसेकी उनी सुख दिन्छु भनेकाले हिँडेकी बताइन् । उनको दुई वर्ष भारतमा काम गर्ने अनि नेपाल फर्किन योजना थियो ।

उनीसँगै सोही दिन नै ११ कक्षामा अध्ययनरत सुर्खेतकी १६ वर्षीय र १० कक्षामा अध्ययनरत रुकुमकी १५ वर्षीय युवतीलाई समेत उद्धार गरेर परिवारलाई जिम्मा लगाएको छ । मानव ओसारपसारमा संलग्न कालीकोट सन्नी त्रिवेणी गाँउपालिका ९ घर भएका ३० वर्षीय लोकेन्द्र तिरुवा , २४ वर्षीय लङ्क तिरुवा र २९ वर्षीय जनक तिरुवा रहेको प्रहरीले जनाएको छ ।


औजार दैनिक : धरानबाट प्रकाशन हुने औजार दैनिकले “प्रतिष्ठानमा बायोइथिक्स सम्बन्धी परिचर्चा” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ । चिकित्साशास्त्र र जीव विज्ञानले गरेको प्रगतिबाट उत्पन्न नैतिक विवादको अध्ययन गर्ने बायोइथिक्स (जैवनैतिक) सम्बन्धी वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विविध कार्यक्रमकासाथ आज परिचर्चा भएको छ । जैवनैतिकले जैवप्रोद्योगिकी र औषधीसंग जोडिएको राजनिति, कानून, जीव विज्ञान चिकित्साशास्त्रका विभिन्न पक्षसंग जोडिएका नैतिक मुद्धा उठाउने गरेको छ विश्वभरि सञ्जाल रहेको बायोइथिक्स समुहमा नेपाल सन् २०१४ मा संलग्न भएपछि प्रतिष्ठानका चिकित्सक विद्यार्थीले प्रत्येक वर्ष जैवनैतिक विषयमा परिचर्चा गर्दै आएका छन् ।


उद्घोष दैनिक : विराटनगरबाट प्रकाशन हुने उद्घोष दैनिकले “प्रदेशमा योजना आयोग छिट्टै” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ । मुख्यमन्त्री शेरधन राई १ नम्बर प्रदेशमा छिट्टै प्रदेश योजना आयोग गठन गरिने बताएका छन् । राष्ट्रिय योजना आयोगले बुधबार विराटनगरमा आयोजना गरेको दिगो विकास लक्ष्यमैत्री योजना अनुगमन, मूल्यांकन तथा तथ्यांक सम्बन्धी प्रदेशस्तरीय क्षमता विकास कार्यक्रमको उद्घाटनका क्रममा मुख्यमन्त्री राईले उक्त कुरा बताएका हुन् । योजनाबद्ध विकासका लागि प्रदेश पनि योजना आयोग आवश्यक रहेको भन्दै त्यसका लागि विभिन्न क्षेत्रका विज्ञहरुसँग छलफल गरिरहेको मुख्यमन्त्री राइले उक्त कुरा बताए ।

विवेचना दैनिक : झापाबाट प्रकाशन हुने विवेचना दैनिकले “जातीय विभेदले लोकेश र देवका ‘भूमिगत’ ” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ ।  जातभात मान्नुहुँदैन भन्दै सहर–बजार र गाउँटोलमा चर्कै नारा घन्किरहेका छन् । जातीय आधारमा विभेद गर्नेलाई कानुनले ‘अपराधी’ करार गर्छ । तर परिवार, समाज र प्रहरी प्रशासन तिनैतिरबाट प्रताडित बनेको छ, अन्तरजातीय विवाह गरेको झापाको एक जोडी । बुद्धशान्ति गाउँपालिका वडा २ जयपुरका लोकेश दर्जी र कनकाई नगरपालिका ७ की देवका विमलीले दुई महिनाअघि प्रेम विवाह गरे । तर, दर्जीसँग बाहुनीले विवाह गरेको पचाउन नसक्ने परिवार, समाज र प्रहरी प्रशासनबाट ज्यान जोगाउन दुई महिनादेखि एक बन्द कोठामा कैदी सरहको जीवन बिताइरहेको छ यो जोडी ।

झापाबाट जसोतसो फुत्केर काठमाडौँ पुगेको यो जोडीलाई युवातीका माइतीतर्फका आफन्तले खटाएका गुन्डासँग डर छ । उनीहरुकै पक्षमा रहेको प्रहरी प्रशासनसँग डर छ । नजिकिँदो चाडबाडको उल्लासको झोक्का उनीहरुसम्म पनि पुग्छ । तर, मन अमिलो बनाएर फर्किन्छ । ‘दसैंतिहार आउँदैछ । सबै मान्छे देशविदेशबाट घर फर्किरहेका छन् । हामी यहीँ भएको मान्छे यसरी भूमिगत भएर बन्द कोठामा लुकेर बसिरहनु परेको छ’, श्रीमती देवकातिर हेर्दै लोकेशले मनको बह पोखे ।