धरानः पुर्वएमालेको भातृ संगठन युवा संघ नेपाल आवद्ध युवाहरुको दबाबमा धरान उपमहानगर कार्यपालिका बैठकले मेला लगाउने निर्णय गरेको खुलेको छ ।

बिहिबार कार्यपालिका बैठक हुनुअघि बुधबार साँझ एमाले नगर संसदीय दलको बैठकमा मेला नलगाउने समझदारी भएपनि रातारात निर्णय परिवर्तन भएको स्रोतको दाबी छ । मेलामा लाखौंको चलखेल हुने र त्यसमा युवा संघआवद्ध युवाहरु नै संलग्न भएकोले पनि दबाब थेग्न नसकेपछि रातारात एमालेले मेला लगाउने निर्णयमा पुगेको हो । ‘छिमेकी युवा समुह त हात्तिको देखाउने दाँत मात्र हो, छिमेकीले मेला लगाउने भनेपनि भित्रि पात्रहरु एमाले, कांग्रेस, समाजवादी फोरम सबैतिरका युवाहरु हुन्,’स्रोतले भन्यो,‘त्यही भएर रातभरीमा एमाले संसदीय दलको सहमति नै फेरियो ।’
बिहिबार कार्यपालिका बैठकमा प्रस्तुत हुने एजेण्डामाथि बुधबारै छाताचोकस्थित पार्टी कार्यालयमा बैठक बसेको थियो । उक्त बैठकमा उपस्थित सबै वडाअध्यक्षहरुले विगतको मेलाको समिक्षा गर्दै पब्लिक स्कुलको मैदानमा मेला लगाउन स्वीकृति नदिने धारणा राखेका थिए । वडा ६ पानवारीमा खाद्य महोत्सव साँझ ७ बजेसम्म मात्र लगाउने हुदा त्यसप्रति सकरात्मक भएपनि पब्लिक स्कुलको मेलाप्रति भने सबैले लगाउन नहुने नै धारणा राखेका थिए । बुधबार साँझको संसदीय दलको बैठकको निष्कर्ष अनुसार बिहिबार कार्यपालिका बैठकको एजेण्डाबाट त्यो बुँदा हटाउने तयारी भइरहदा एमाले नेतृत्वबाट मेलालाई स्वीकृति दिन दबाब पुगेको स्रोतको भनाई छ । ‘आफ्नै पार्टीका युवाहरु मेला लगाउन दौडधुपमा छन् । भित्रिरुपमा नेताहरु नै मेलाको डिजाइनर हुन्, अनि कसरी रोक्न सक्नु ?’स्रोतले भन्यो ।

वडा नं १५ का अध्यक्ष एवं मेला अनुगमन समितिका संयोजक नरेश इवारम संसदीय दलको बैठकमा मेलाको बिषयमा छलफल भएपनि स्वीकृति दिने वा नदिने बिषयमा निर्णय नभएको बताउाछन । ‘बैठकमा उपस्थिति पनि थोरै थियो । उपस्थित भएकाले पब्लिकको मेलालाई चै स्वीकृति नदिन राम्रो हुन्छ कि भन्ने भएको हो, तर निर्णय नै होइन,’उनले भने,‘राती परिसकेकोले थोरै आएकाहरु पनि घर गइसकेकोले निर्णय भएन । वडा ६ को खाद्य उत्सव दिने हो भने पब्लिकमा किन नदिने भन्ने भएको थियो । आज कार्यपालिका बैठकमा बहुमतले निर्णय भयो ।’ पुर्व एमालेका कार्यवाहक नगर अध्यक्ष नारायण सुवेदी बुधबार संसदीय दलको बैठकमा मेलाको बिषयमा छलफलै नभएको दाबी गर्छन् । ‘हामी अरु एजेण्डामा बैठक बसेका थियौं, मेला लगाउने, नलगाउने बिषयमा होइन । छलफल र निर्णय केही भएको थिएन,’उनले भने ।