दमक : दमकसँगै प्रदेश नं १ को पर्यटकीय गन्तव्यहरुको उजागर तथा प्रर्वद्धन गर्ने उद्देश्यले झापाको दमकमा तीन दिने फोटो प्रदर्शनी शुरु भएको छ ।
दृश्यम डिजिटल प्रा.लि.को आयोजनामा दमकको संखाधार चौकमा तीन दिने फोटो प्रर्दशनी शुरु भएको हो । प्रर्दशनीमा पर्यटकीय गन्तव्यका एरियल भ्यु,दैनिक जीवन शैली, धार्मिकस्थललगायत विविध विधाका तस्वीरहरु राखिएको छ । प्रदर्शनीको उदघाटन बिहिबार प्रदेश सरकारका माननीय कानुन मंत्री हिक्मत कार्कीले गरेका थिए ।
प्रदर्शनीमा स्थानीय व्यवसायी, गृहणी, बिधार्थीहरु पनि चासो दिएर अवलोकनको लागि पुगिरहेका छन् । प्रदर्शनी असोज २७ गते शनिबार दिउसो ३ बजे देखि बेलुकी ७ बजे सम्म रहने प्रालिका संस्थाक नविन अधिकारीले बताए । आयोजकका अनुसार प्रदर्शनी अवधिभर विभिन्न तस्विरहरु खरीद गर्न पनि सकिनेछ । गत बर्षको प्रदर्शनीमा दमकवासीको सहभागिता र हौसला पाएको कारण यो बर्ष पनि निरन्तरता दिइएको अधिकारीले बताए ।
पुर्व क्षेत्रमा व्यवसायिक फोटोग्राफी तथा माइक्रो डकुमेन्ट्री, व्यावसायिक संस्थाको सोसियल मिडिया व्यवस्थापनको स्थानीय युवाहरुले दृष्यम स्थापना गरेका हुन् । पूर्वका पर्यटकीय स्थानको प्रचारप्रसार गरी पर्यटन क्षेत्रमा टेवा पुरयाउने तथा सामाजिक, सृजनशील क्षेत्रमा लागेका ब्याक्तिको माइक्रो डकुमेन्ट्री निर्माण गरी गरी सृर्जनशील काममा अरुलाई प्रेरित गराउने काम गरिरहेको अधिकारीले बताए ।