धरान: धरान फुटबल फ्यान क्लबले सुनसरीको तरहरामा आयोजित प्रथम तरहरा गोल्डकप २०७५ को उपाधि जितेको छ ।
शनिबार तरहराको तामाङ टोलस्थित खेल मैदानमा आयोजित प्रतियोगिताको फाइनलमा मोरङको सुन्दर दुलारी फुटबल क्लबलाई १-० गोलअन्तरले हराउदै फ्यान क्लबले उपाधि जितेको हो । फ्यान क्लबको जितमा डिफेन्डर सुजन श्रेष्ठ नायक सावित भए । उनले दोस्रो हाफको खेल सकिन १० मिनेट बाँकी रहदा निर्णायक गोल गरेका थिए ।

जितसँगै फ्यान क्लबले च्याम्पियन ट्रफी, नगद ७५ हजार ५ सय ५५, मेडल र प्रमाणपत्र हात पार्यो भने उपविजेताले ५५ हजार ५ सय ५५ मा चित्त बुझयो । फाइनलमा निर्णायक गोल गरेका सुजन म्यान अफ दि म्याच र वेष्ट डिफेन्डरको पुरस्कार पनि हात पारे भने प्रतियोगिताको उत्कृष्ट खेलाडी फ्यान क्लबकै रिवस मास्के भएको फ्यान क्लबका खेलाडी रामकृष्ण खड्काले जानकारी दिए ।
प्रतियोगिताका तरहराको सगरमाथा युथ क्लबले आयोजना गरेको थियो । उपाधि विजेता धरान फुटबल फ्यान क्लब धरानका पुर्व खेलाडीहरुले मिलेर स्थापना गरेका हुन् । धरानको फुटबललाई जोगाउन, फुटबलको गतिविधिहरु जारी राख्न तथा प्रतिभावान खेलाडीहरु जन्माउने उद्देश्यले क्लब गठन भएको हो । क्लबले गएको गर्मी विदामा धरानका डेढ सय बढी विद्यार्थीहरुलाई वृहत फुटबल प्रशिक्षण पनि आयोजना गरेको थियो ।