धरान: निरंकुश पञ्चायती व्यवस्था विरुद्ध बोल्दा मात्र पनि ज्यानको खतरा थियो । झन् उनी त माक्र्सवादी कम्युनिष्ट विचारधाराबाट प्रभावित थिइन्, र निरंकुशताविरुद्ध सक्रिय ।

राजनीतिसँगै शिक्षण पेशा उनको कर्म थियो । साहित्य लेखनमा पनि उस्तै दक्षता । निरंकुश शासक र तिनका अरौटे भरौटेहरुको निशानामा थिइन् उनी । पञ्चायतले उनलाई नक्सलाइट भन्थ्यो । यसरी निडरताका साथ पञ्चायतको दमन, अन्याय, अत्याचारविरुद्ध लडेकी साहसी नारी हुन्, ७३ बर्षीय कुन्ता शर्मा । तत्कालीन एमालेबाट सुनसरी क्षेत्र नं १ बाट जितेर २०५६ सालमा सांसद पनि बनिन् । तर, राजनीति उनलाई फापेन भन्दा पनि हुन्छ । उनको परिचयमा साहित्यकार कुन्ता शर्मा भन्दा नै उपयुक्त हुन्छ । यो कुरामा स्वयम साहित्यकार शर्मा पनि सहमत छिन् । उनले आफु राजनीतिमा रहे पनि वा नरहेपनि निरन्तर साहित्य साधनामा लागिरहने बताइन् । उनले भनिन्,‘राजनीतिमा सक्रिय हुँ कि नहुँ, तर लेख्न छोड्दिन । लेखिरहन्छुँ र धरानलाई पनि छोड्दिन । यही ठाउँमा बसेर सृर्जना गरेको छुँ, भविष्यमा पनि गर्छु । मेरो उर्जा तपाईहरु नै हो ।’

जीवनका अनेक आरोह अवरोह छिचोलेकी शर्मा धरानमै जन्मिइन्, यहीको माटोमा हुर्किइन् । धरानप्रतिको उनको प्रेम, स्नेह कतिसम्म छ भने सबैले काठमाण्डौं बस्न आग्रह गर्दा पनि गइनन् । निरंकुशता, अन्याय र अत्याचारविरुद्ध, महिला मुक्तिको लागि निरन्तर लडेकी शर्माले आफ्नै जीवनसँग पनि लड्नु संघर्ष गर्नुपर्यो । शनिबार(असोज २७ गते) धरानको बिग फुटसल क्याफेमा उनको पछिल्लो कविता संग्रह ‘मेरो मान्छे’माथि चर्चा कार्यक्रम थियो । उनले आफ्नो जीवनको एउटा पाटा खुलाउदै भनिन्,‘स्वास्नी मान्छेले सधै अग्निपरीक्षा दिइरहनपर्ने ! कहिलेसम्म ? दरबार त्यागेर रामसँगै जंगल गएकी सीताले जंगलमै छोराहरु हुर्काइन् । त्यहाँ पनि उनको परीक्षा लिइयो । दरबारमा फर्केपछि पनि अग्नीपरीक्षा दिनुपर्यो । सीता नगरवधु त थिइनन् नि । मलाई यो कुरा पटक्कै चित्त बुझेन ।’

1Untitled-1 copy 1

रामायणकी सीता र आफ्नो जीवनबीच तुलना गर्दै साहित्यकार शर्माले आफ्ना पुर्वपति मञ्जुलसँग छुटिदाको कुनै दुःख, ग्लानी नभएको पनि बताइन् । मन नमिल्दा जर्र्बजस्ती बस्नु भन्दा छुटिदा नै ठिक भएको बताइन् । ‘मलाई गाली गरेर हिडे, बहुविवाह गरे । त्यति मात्र होइन कि मेरो छोरा होइन भनेर डिएनएसम्म परिक्षण गराए । यसरी रामहरु सधै अविजित भइरहन खोज्छन्,’कलरवले आयोजना गरेको कार्यक्रममा शर्माले आक्रोश मिश्रित स्वरमा भनिन्,‘म पतिसँग बसेको हुन्थे भने कविता लेख्ने क्षमता हराउथ्यो, राजनीतिमा पनि हुदिनथे, घरभित्र खाना पकाउनमै सिमित भएर बस्थे । त्यसैले म एकल हुदा नै ठिक छ ।’

कविहरु विश्वमै पुग्छौं
साहित्यकार शर्माले कविहरु विश्वमा पुग्ने र त्यहाँको अन्याय, अत्याचार, दुःख, पीडाले पनि छुने गरेको बताइन् । विश्वमा भइरहेको हत्या, हिंसालाई नदेख्ने, नहेर्ने र नलेख्ने हो भने कवि हुनुको औचित्य, अर्थ नरहने पनि शर्माको भनाई थियो । ‘कविहरु विश्वमा पुग्छौं, सिरियामा पुग्छौं, र त्यहाँको पीडामा दुख्छौं । म्यानमारको रोहिंग्यामा पुग्छौं, इराकमा पुग्छौं,’उनले भनिन्,‘त्यसरी दुखेनौं भने, हत्या हिंसालाई देखेनौं, भने हामी किन कवि ?’

काव्य र सँस्मरण नयाँ सालमा आउछ

4Untitled-1

साहित्यकार शर्माको अहिलेसम्म मात्र २ वटा कविता संग्रह प्रकाशनमा आएको छ । उनको पहिलो संग्रह हो, म उभिएको ठाउँ । लामो अन्तरालपछि दोस्रो कविता संग्रह मेरो मान्छे हालै प्रकाशनमा आएको हो । नयाँ कृतिमा ५४ वटा कविताहरु छन् ।
अब भने आउदो नयाँ बर्ष २०७६ को शुरुवातमा नयाँ संग्रह आउने छ भने ३ सय पेजको काव्य र २ सय पेजको सँस्मरण पनि प्रकाशनको तयारीमा रहेको साहित्यकार शर्माले बताइन् । ‘नयाँ बर्षमा संग्रह आउछ । काव्यको पनि तयारी भइरहेको छ, सँस्मरण पनि आउनेछ,’उनले भनिन् ।

माक्र्सवादी सौन्दर्य चेतना भरिएको संग्रह

कविता संग्रह मेरो मान्छे माथि टिप्पणी गर्दै डा. भिम खवितडा र डा. इन्दिरा मिश्रले संग्रह माक्र्सवादी सौन्दर्य चेतना भएको बताए । डा. खतिवडाले साँस्कृतिक विखण्डनले तहसनहस पारेको समाज, लैंगिक, जातिय र आर्थिक बिषमता संग्रहको कविताहरुको केन्द्रमा रहेको बताए । ‘उहाँको लेखन पारिजातको बाटोमा छ । उहाँ थोरै लेख तर जीवन लेख भन्नु हुन्छ । जीवनवादी सृर्जना गरिरहनु भएको छ, साँस्कृतिक रुपान्तरणको आह्वान गर्नुभएको छ,’डा. खतिवडाले भने ।

डा. मिश्रले पनि सत्ताको कुरुप पक्षलाई कविताहरुले पर्दाफास गरेको बताइन् । श्रष्टा शर्मा सशक्त विद्रोही र स्वाभिमानी भन्दै मिश्रले पनि संग्रहका कविताहरु माक्र्सवादी सौन्दर्य चेतनाले भरिएको बताइन् । डा.गोपाल भण्डारीले पनि शर्माको कलम सशक्त, कलात्मक र नयाँ नयाँ सृर्जना गरिरहने धारणा राखे ।

2Untitled-1