उठ्यो रिमाई फेवातालमा छाल साँझपख,
हान्यो रिमाई माझी दाई जाल साँझपख

शनिबार करिब सवा ५ बजे साँझ धरान ८ स्थित गोर्खा डिपार्टमेन्टको हलमा प्रणय गजलका वादशाह प्रकट पगेनी शिव यी सेर भन्दै शुरु भए, तब धरान गजलको महफिलमा मुग्ध बन्यो ।

Untitled-5 copy 1

धरानमा भइरहने साहित्यिक कार्यक्रम एवं गतिविधिहरुमा गजल सम्बन्धी कार्यक्रम अत्यन्तै न्युन हुन्छ । यद्यपी यहाँ गजलका पारखीहरु नभएका भने होइनन् । तर, गजल लेख्ने र गजलको महफिल जमाउने श्रष्टाहरु असाध्यै थोरै मात्र छन् । साहित्यका अन्य विधाबाट छाँयामा परेको गजलले शनिबार साँझ भने वाह..क्या वात..र तालीको गडगडाहट पाइरह्यो ।

धरानको वडा नं १३ कार्यालयले गठन गरेको कला, साहित्य, सँस्कृति प्रतिष्ठानको निम्तोमा आएका थिए, प्रणय गजलका वादशाह प्रकट पगेनी शिव । गोर्खा डिपार्टमेन्ट सपिङ मलको हलमा आयोजित कार्यक्रममा प्रकटका प्रणय गजलहरुले धरानलाई गजलमय बनाइदिए । स्वागतको क्रममा नै प्रतिष्ठानका सदस्य प्रफुल्ल भण्डारीले सुन्दर गजल प्रस्तुत गरेर महफिल तताइदिए । जब प्रकट पगेनीको प्रणय गजलहरुको बर्षा शुरु भयो, डेढ घण्टा बितेको धरानेहरुले पत्तै पाएनन् । हलबाट बाहिरिदा झमक्कै साँझ परिसकेको थियो ।

pageni 1

गजल सुनाउनकै लागि पोखराबाट आएका पगेनीले हरेक गजल सुनाउनुअघि रचनागार्भ पनि बताउथे । जसले गर्दा गजल बुझ्न मात्र होइन, रचनागार्भसँग जोडिएको घटना रोचक पनि लाग्थ्यो । गजलकार पगेनीले डेढ दर्जन बढी आफ्ना चर्चित प्रणय गजलहरु सुनाएका थिए । यु ट्युबमा पगेनीका गजलहरु सुन्दै आएका धरानेहरुले प्रत्यक्ष सुन्न पाउदा खुब रमाए ।

साँझ थियो, तिमी थियौं, हल्का हल्का मात थियो
जुनेलीको उज्यालोमा, जवानीको बात थियो...।
...............................................

अर्को गजलको सेर..

हात समाई उनलाई खोला तार्नुको मजा बेग्लै थियो
सारीको सप्को अलि माथि सार्नुको मजा बेग्लै थियो......।
...............................................
तप्प तप्प जलबिन्दु चुहाएर के निस्कियौं
स्नीग्ध कञ्चन कोमल आहा !! नुहाएर के निस्कियौं...।

Untitled-1 copy

दुवै मृगौला फेलियर भई डाइलाइसिस गराइरहेका धरानका पत्रकार, कवि तथा रंगकर्मी प्रविण राईको सहयोगार्थ प्रतिष्ठानले धरानमा प्रकटका प्रणय गजलहरु कार्यक्रम आयोजना गरेको थियो । धरानमा पहिलो पटक एकल गजल कार्यक्रम भएपनि पगेनीको प्रणय गजलहरुको यो १५ औं श्रृंखला हो । कार्यक्रममा मृगौला पीडित पत्रकार राईलाई वडा १३ का अध्यक्ष नेत्र काफ्ले र आयोजक संस्थाका अध्यक्ष गोपाल श्रेष्ठ प्रयासले नगद २५ हजार सहयोग प्रदान गरिएको थियो भने गजल सुन्न आएका सहभागीहरुले पनि थप सहयोग गरेका थिए ।

Untitled-2 copy

 

Untitled-1dd copy

Untitled-1sss copy

Untitled-ss1 copy