इटहरी : सुनसरीको इटहरीबाट एक किलोमिटर पूर्वदक्षिणमा पर्छ, मोरङको सुन्दरहरैचा नगरपालिका । सोही नगरपालीकाको स्वामित्वमा पर्छ सुन्दर र मनोरम दृष्यसँगै पर्यटकीयस्थल गोकुलम रिसोर्ट ।
यो रिसोर्ट पछिल्लो समय चर्चामा रहेको छ । २०७२ साल बैशाख १२ गते गएको महाभुकम्पले क्षति पुगेको धरहराको प्रतिबिम्ब गोकुलम रिसोर्टमा ठडिएपछि यसको चर्चा चुलिएको हो । रिसोर्ट भित्रका हरियाली बाताबरणसँगै रमाइलो दृष्यहरू अवलोकनको लागि अहिले दैनिक २ सयदेखि ३ सयसम्म पर्यटकहरू आउने गरेका छन । त्यसो त बिदाको दिन एक हजार देखि १५ सयसम्म पर्यटकहरूको घुइँचो लाग्ने गरेको यहाँका कर्मचारीहरू बताउँछन ।

दैनिक झापा हुदै पाँचथरसम्मका पर्यटकहरू विभिन्न सञ्चारमाध्यममा सुनेको बिज्ञापनकै भरमा यहा आउने गरेका छन् । रिसोर्ट घुमिसकेर पर्यटकहरु प्रसंशा गर्दै फर्कने गरेका छन् । यहाँ उटमा चढेर घुम्नु, बोटिङको मज्जा, आवाससहितको रेस्टुरेन्ट, बिभिन्नरूपमा खोपिएका मुर्तिहरू र बाह्रैमास बगिरहने झरना जस्तो कल कल गर्ने पानीको आवाजहरूले पर्यटकहरूको मन लोभ्याउने गरेको छ ।
स्थापनाको समयमा दैनिक ३० जना जति मात्र पर्यटकहरू आउने गर्थे । अहिले यहाँ दैनिक २ सय देखि ३ सयसम्म आन्तरिक पर्यटकहरू आउने गरेका छन् । चिसो मौसमको सुरूवातसँगै अहिले रिसोर्टमा पर्यटकहरूको घुँइचो लाग्ने गरेको छ । मुल स्वागत गेटबाट छिर्ना साथ अगाडि देखिने मनोरम दृष्यले जो कोहीको पनि मन लोभिने गरेको छ । प्राकृतिकरूपमा सुन्दरताले भरिभराउ त्यसमा पनि बालबालिकाहरूको लागि रमाइलो खेलकुद पार्क, सेल्फि खिच्न लायक र पायक ठाउँहरू देखेर पर्यटकहरू आफै लोभिने गरेका छन । बिशेष गरी सुनसरी, मोरङ, झापा लगायत बिभिन्न जिल्लाहरूबाट अहिले गोकुलममा आउने आगन्तुकहरूको घुइचो देख्न सकिन्छ ।

पछिल्लो समय सुन्दरताले भरिएको प्राकृतिक श्रोत र दृष्यहरूलाई समेटदै साना तिना म्युजिक भिडियोदेखि ठुला पर्दाका नेपाली चलचित्रहरूको पनि सुटिङस्थल बनेको छ गोकुलम रिसोर्ट । विभिन्नरूपमा ढालिएको ढुंगामा खोपेर बनाइएका मुर्ति र रंगरोगन लगायत हालै ल्याइएको प्लेनले पनि गोकुलममा आउने पर्यटकहरूको ध्यान खिचेको छ ।