चतरा: प्रथम सगरमाथा वडास्तरीय नगर कपको उपाधि वराहक्षेत्र नगरपालिका वडा नं १ ले जितेको छ ।

बुधबार निर्माणाधिन सप्तकोशी खेल मैदानमा सम्पन्न प्रतियोगिताको फाइनलमा वडा नं ३ लाई १–० गोलअन्तरले हराउदै वडा १ ले उपाधि जितेको हो । वडा १ को जितमा दिवस लिम्बुले पेनाल्टी अवसरमा गोल गरेका थिए । दोस्रो हाफको तेस्रो मिनेटमा डि बक्सभित्र वडा १ का विनोद राईलाई ट्याकल गरेर लडाएपछि पेनाल्टी अवसर पाएको थियो । पेनाल्टीमार्फत लिम्बुले गरेको गोलले नै वडा १ लाई उपाधि दिलायो । प्रतिस्पर्धात्मक खेलमा दुवै टिमले पटक पटक गोल गर्ने प्रयास गरे पनि सफल भने हुन सकेनन् ।

प्रतियोगिता असोज २१ गतेदेखि ३१ सम्म भएको थियो । प्रतियोगिता वराहक्षेत्र नगरपालिका वडा २, रेल्वेलाईनस्थित सगरमाथा युवा क्लबले आयोजना गरेको थियो । उपाधि विजेताले नगद ३ हजारसँगै ट्रफी हात पार्यो भने उपविजेताले नगद २० हजार र ट्रफी थाप्यो । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी दिवस लिम्बू घोषित भए भने उत्कृष्ट मिडफिल्डरमा रोशन भुजेल, उत्कृष्ट डिफेन्समा मनोज राई, उत्कृष्ट गोलकिपरमा सौरभ बराल, हाई स्कोररमा साजन राई र फाइनलको म्यान अफ दि म्याच विनोद राई घोषित भए । विजेता तथा उपविजेता टिमका खेलाडीहरुलाई प्रमुख अतिथि एवं वराहक्षेत्र नगरपालिकाकी उपमेयर कमला मगर र वडा नं २ का अध्यक्ष हरिकृष्ण भटराईले पुरस्कार वितरण गरेका थिए ।

तस्विर स्रोत: सुर्य तुम्बाहाम्फे

44183239_1854247114653698_7572181970260590592_o copy