धरान: तेह्रथुमको लालीगुराँस नगरपालिका ६ मा व्यापारीहरुले खरीद गरिसकेको एउटा रुद्राक्षको बोट(गाछी)बाट रुद्राक्ष चोरी भएको छ ।

तीन जना व्यापारीले खरीद गरेको स्थानीय नारायण घिमिरेको बारीको एउटा रुद्राक्षको बोटबाट शनिबार बिहानै ८० प्रतिशत रुद्राक्ष चोरी भएको पीडित व्यापारीहरुले बताएका छन् । घिमिरेको बारीको उक्त रुद्राक्ष बोट हिमालकुमार राई, पवन जिसि र उदयचन्द्र खत्रीले खरीद गरेका थिए । चोरी भएको रुद्राक्षको बजार भाउ ५० लाख भएको पीडित व्यापारी राईले बताए । ‘थुप्रै गाछी मध्ये एउटा, दुइटामा राम्रो दाना हुन्छ, र हामीले गाछी नै किनेका हुन्छौं । हामीले किनेको बोटको ८० प्रतिशतभन्दा बढी राम्रो दानाहरु चोरी भएको छ,’राईले भने,‘५० लाख बढी मुल्यको दाना चोरी भयो ।’

aIMG20181015073920 copy

पीडित व्यापारीहरुका अनुसार दाना खरीद गरेपछि हेरालुको रुपमा एक जना ओमप्रकाश सुवेदीलाई राखिएको थियो । शनिबार बिहानै सुवेदी आफन्तको मृत्यु भएकोले घर जाने भनेर खबर गरेका थिए । त्यसबेलासम्म दाना ठिक अवस्थामा भएको उनले बताएका थिए । धरानबाट व्यापारीहरु आफै दानाको सुरक्षा दिन जाने तयारी भइरदा बिहान ८ बजेतिर दाना चोरी भएको भन्दै बोटधनी घिमिरेले खबर गरेका थिए । ‘हाम्रो हेरालु हिडेको ३, ४ घण्टा पछि बोटमा रुद्राक्ष छैन भन्दै फोन आयो । हामी गएर छरछिमेकसँग पनि बुझ्यौं, गाछीधनी घिमिरेलाई पनि सोधपुछ गर्दा आनाकानी भयो, त्यसैले घिमिरे, हाम्रो हेरालुलाई पनि अनुसन्धान गर्न प्रहरीमा उजुरी दिएका छौं,’राईले भने ।

पीडित व्यापारीहरुले इलाका प्रहरी कार्यालय वसन्तपुर र लसुने प्रहरी चौकीमा उजुरी दिएका छन् । रुद्राक्ष लिने दिने सर्तनामा गर्दाको समय साक्षी बसेका २ जनालाई पनि सोधपुछ र अनुसन्धान गर्न पनि उनीहरुले माग गरेका छन् । गएको साता पनि भोजपुरको षडानन्द नगरपालिकाको ताबुमा २ करोड बराबरको रुद्राक्ष बोटबाटै लुटपाट भएको थियो । दाना रुङ्न राखेको मान्छेलाई पनि १०/१२ जनाको समुहले कुटपिट गरेर रुद्राक्षको हागा समेत काटेर लगेका थिए । पछिल्लो समय रुद्राक्षको दाना चोरी, लुटपाटको घटना वृद्धि हुदै गएको छ ।