धरान: मोरङको सुनबर्षी नगरपालिका १ का ७३ बर्षीय बमबहादुर राईले ६ बर्षको अन्तरालमा परिवारको ३ जना सदस्य क्यान्सरबाट गुमाएका छन् ।

सबैभन्दा पहिला २०६९ मंसिर २५ मा जेठो छोरा बालजित राईको ३३ बर्षकै युवा उमेरमा मलद्धारको क्यान्सरबाट मृत्यु भएको थियो । जेठो छोरा गुमाएको पीडा विर्सन नपाउदै २०७३ असारमा जीवन संगीनी राजमाया राईलाई पनि ६२ बर्षको उमेरमा गुमाए । लिभर(कलेजो)को क्यान्सरबाट राजमायाको मृत्यु भएको थियो । पछिल्लो पटक गत भदौंमा बमबहादुरको परिवारले कान्छी बुहारी विमला राईलाई क्यान्सरबाटै गुमाएको छ ।

कान्छी बुहारी विमला ३३ को उमेरमा गएको भदौ ३० गते पाठेघरको क्यान्सरबाट मृत्यु भएको थियो । उनलाई मंसिर २०७४ देखि सामान्य पेट दुख्न थालेपछि सप्तकोशी अस्पतालमा उपचारमा गएकी थिइन् । पाठेघरमा क्यान्सर भएको पत्ता लागेपछि त्यही अप्रेशन गरिएको थियो । पुनः केही समयपछि पेट दुख्न थालेपछि विमला विराटनगरस्थित कोशी अञ्चल अस्पतालमा जाँच गर्न गएकी थिइन । ‘त्यहाँ चेक गर्दा क्यान्सर फैलिएर पेटसम्म संक्रमण भएको पत्ता लाग्यो । २०७४ चैतमा फेरी त्यहाँ अप्रेशन भयो र क्यान्सर अस्पताल काठमाण्डौं रिफर गरिदियो,’ससुरा बमबहादुरले भने,‘किमो लगाउदा लगाउदै भदौ ३० मा बुहारीको पनि मृत्यु भयो ।’

युकेबाट १२०४ पाउण्ड सहयोग

rakam 3 copy

पाठेघरको क्यान्सर पीडित विमलाको उपचारमा आर्थिक अभाव भएको भन्दै आफन्त हेमेश्वर राईले मिडियामार्फत सहयोगको आह्वान गरेका थिए । उनको आह्वानबारे युकेमा बसोबास गरिरहेका भोजपुर थुमपौवा खेसाङ कम्युनिटीका नेपालीहरुले थाह पाए । त्यसपछि, ब्रिटिश आर्मीमा कार्यरत सार्जेन्ट दिनेश राईको अगुवाईमा सहयोग संकलन अभियान शुरु भएको थियो । दुई समुह भएर युकेमा विमलालाई सहयोग संकलन अभियान चल्यो । एउटा समुह पौवाथुम कम्युनिटीका १६ जनाबाट ७१३ पाउण्ड संकलन भयो भने कोलचेस्टर राई कम्युनिटी युकेबाट २४ जनाले ४९१ पाउण्ड गरी कुल १२०४ पाउण्ड सहयोग जुट्यो ।

उक्त सहयोग रकम नेपाली १ लाख ८१ हजार ८ सय रुपैया दिनेश राईका जेठा दाजु धरान १५ निवासी महेश्वर राईमार्फत बुधबार पीडित परिवारको घरमा पुगेर हस्तान्तरण गरिएको थियो । नगद हस्तान्तरण कार्यक्रमका संयोजकसमेत रहेका महेश्वर राईका अनुसार सहयोग रकम मृतक विमलाकी ससुरा बमबहादुर राई र श्रीमान् इश्वरमान राईलाई घरमा पुगेर प्रदान गरिएको थियो । सुनबर्षी नगरपालिकाकी उपप्रमुख मञ्जु राईले सहयोग रकम हस्तान्तरण गर्दै थप ५० हजार रुपैया आफुले सहयोग गर्ने घोषणा पनि गरेकी छिन् । पीडित परिवारमा बमबहादुर, कान्छा छोरा इश्वरमान र नातीहरु ३ जना छन् ।

20181017_160806 copy