धरान:हरेक शनिबार बिहान ठिक ७ बजे धरान ८, यलम्बर वन समुहबाट धरान रन दौड शुरु हुन्छ । स्वच्छ धरान, स्वस्थ्य धरान भन्ने नारा दिएर विगत ७ बर्षदेखि प्रत्येक शनिबार धरानेहरु दौडिरहेका छन् ।

यो दौडको बिशेषता के हो भने ७ बजे दौड शुरु भइहाल्छ । दौडने जति संख्या होस्, कसैलाई मतलव हुदैन, ५ जना भएपनि वा सय जना भएपनि दौड हुन्छ । त्यति मात्र होइन, पानी झरी, हुरीबतास वा चाडपर्व जुनसुकै दिन र समयमा पनि धरान रन हुन्छ । यसपाली पनि वडा दशैको उल्लास सबैतिर छाइरहदा आज शनिबार धरान रन कार्यक्रम भव्यताको साथ सम्पन्न भयो ।

IMG_5024 copy

शुक्रबार टिका थियो । अझै पुर्णिमाको दिनसम्म दशैको रौनक छाइरहन्छ । आफन्तजन, मान्यजनको घरमा टिका र आर्शिवाद थाप्न जाने क्रम चलिरहन्छ । दशैको चटारोको बीचमा पनि शनिबार धरान रन भएको अध्यक्ष रमु राईले जानकारी दिए । उनका अनुसार यो पटक धरान रनको ३ सय ८८ हप्ता आयोजना भएको हो भने ७८ जना सहभागी भएका थिए । उनले भने,‘शनिबार धरान रन कहिल्यै पनि रोकिएको छैन । पानी झरी, हुरी वतास, दशै तिहार कहिल्यै पनि रोकिएको छैन ।’

यलम्बर पार्कबाट शुरु हुने धरान रन तीनकुने पुगेर पुनः यलम्बर पार्कमा समापन हुन्छ । यसको दुरी ३.५ किलोमिटर रहेको छ । सहरीया खानपान,निष्क्रिय जीवनले अनेक रोगले मानिसहरु ग्रसित भएपनि स्वास्थ्य रहने सन्देशस्वरुप करिब ७ बर्षअघि धरान रन अभियान शुरु भएको थियो । पहिलो साता मात्र २७ जना दौडमा सहभागी थिए । विस्तारै अभियानले व्यापकता हुदै गयो । अचेल ३,४ सय बढी एक सातामा दौडमा सहभागी हुन्छन् ।

यसरी शुरु भयो धरान रनको अवधारणा

IMG_5030 copy

हाल बेलायतमा बसोबास गरिरहेका धराने युवाहरुले धरान रनको अवधारणा भित्र्याएका हुन् । यसको मुख्य श्रेय धरान रनका संस्थापक सन्तोष राईलाई जान्छ । उनलाई अनिल राईले पनि महत्वपुर्ण साथ दिएका थिए । आफ्ना नातेदार, आफन्तजनहरु अधिकांश ब्लड प्रेसर, सुगर, डाइबिटिज, मुटुरोगलगायत रोगले ग्रसित भएपछि उनीहरुले स्वास्थ्यको लागि चेतना जगाउने उद्देश्यले धरान रन शुरु गरेका थिए ।

धरान रनको पहिलो साता ७ सेप्टेम्बर २०११ मा आयोजना भएको थियो । बेलायतको लण्डनबासीहरुले आफुहरु निरोगी एवं स्वस्थ्य रहन प्रत्येक साताको आइतबार सामुहिकरुपमा पार्क रन आयोजना गर्छन् । त्यसैबाट प्रभावित भएर धरान रन शुरुवात गरिएको हो । अचेल धरान रनले प्रत्येक शनिबार दौड गराउन मात्र होइन, समाज सेवामा पनि आफुलाई समर्पित गराएको छ । धरान रनले नेवा च्यारिटी ८ कि.मि.दौड गराउदै आएको छ भने भानुचोकमा फण्ड राइजिङ सप(पसल) पनि सञ्चालनमा ल्याएको छ । निम्नस्तरका विद्यार्थीहरुलाई शिक्षामा सपोर्ट गर्न एजुकेशन फण्ड पनि स्थापना गरेको छ ।

44376125_1906466499660982_647794640057008128_n copy

44393522_2041863392544106_3385115939342123008_n copy

IMG_5031 copy