धरानबाट भैरहवा जाँदै गरेको रात्री बस महेन्द्र राजमार्ग अन्तर्गत नवलपरासीको अरूणखोला नजिक दुर्घटना हुँदा कम्तिमा ६ जनाको मृत्यु भएको छ।

क्षमताभन्दा बढी यात्रु बोकेको लु १ ख ८४५४ नम्वरको बस आइतबार बिहान करिब ५ बजे दुर्घटनामा परेको प्रहरीले जानकारी दिएको छ। दसैंमा टिका सकेर आ–आफ्नो गन्तव्यमा हिँडेका यात्रुले बस खचाखच भरिएको थियो।   जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रमुख एसपी रमेश थापाले दिएको जानकारी अनुसार पाँच जनाको घटनास्थलमा र एक जनाको उपचारको क्रममा मृत्यु भएको हो।

बसका चालक निदाएका कारण बिहान बस राजमार्गमै पल्टिएको प्रहरीको प्रारम्भीक अनुसन्धानले देखाएको छ। मृतकहरुको नाम, ठेगाना खुल्न नसकेको उनले बताए।  बसको बत्ती मधुरो रहेको र गति तीव्र भएका कारण बस दुर्घटनामा परेको यात्रुलाई उद्धृत गर्दै प्रहरी उपरीक्षक थापाले जानकारी दिए। दुर्घटनामा परी घाइते भएका ४२ को भरतपुर र नौ जनाको स्थानीय मेडिकलमा उपचार भइरहेको छ। दुर्घटनाको थप विवरण आउन बाँकी रहेको छ ।