पाँच पटकका फिफा वर्ष खेलाडी पोर्चुगलका स्ट्राइकर क्रिष्टियानो रोनाल्डो युरोपको शीर्ष ५ लिगमा ४०० गोल पुरा गर्ने पहिलो खेलाडी बनेका छन्। इटालियन सिरिए अन्तर्गत शनिबार राति जेनोआसँग भएको खेलमा गोल गर्दै रोनाल्डोले यो सफलता हात पारेका हुन्।

यो खेलमा युभेन्टस एक–एक गोलको बराबरीमा रोकिएको थियो। जारी सिजन युभेन्टसले अंक बाडेको यो पहिलो पटक हो। घरेलु मैदानमा भएको खेलको १८ औं मिनेटमा रोनाल्डोको गोलमा युभेन्टसले अग्रता बनाएको थियो। योसँगै रोनाल्डोले लिगमा ४ सय गोल पूरा गरे। उनले इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडबाट ८४, स्पेनिस ला लिग क्लब रियल मड्रिडबाट ३११ र युभेन्टसबाट ५ गोल गर्दै ४ सय गोल पूरा गरेका हुन्।