बारा: आफ्ना नाबालक दुई छोरालाई झुण्ड्याएर हत्या गरेपछि बाराको जीतपुर सिमरा उपमहानगरपालिका–४ औराहका ४२ बर्षीय सुरेन्द्र राम आफु पनि झुण्डिएर आत्महत्या गरेका छन् ।

आफु आत्महत्या गर्नुअघि उनले ५ वर्षीय छोरा सुविन र ३ वर्षीय छोरा विपिनलाई पनि झुण्ड्याएर हत्या गरेका थिए । स्थानीयले तिनै जना घरको कोठामा झुण्डिएको देखेपछि प्रहरीलाई खबर गरेका थिए । इलाका प्रहरी कार्यालय सिमराबाट पुगेको प्रहरी टोलीले उनीहरुको शव वीरगञ्ज पठाएको छ ।

स्थानीयका अनुसार अत्यधिक मदिरा सेवन गरेर कुटपिट गर्न थालेपछि सुरेन्द्रलाई पत्नीले छोडेर गएका थिए । सुरेन्द्रले आफ्नी आमालाई पनि कुटपिट गर्ने गरेको कारण घर छोडेर अलग्गै बस्न थालेकी थिइन् । घरमा दुई छोराको साथमा सुरेन्द्र मात्र बस्ने गरेको स्थानीयले जानकारी दिए । इलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरीक्षक सुभाष हमालका अनुसार शव पोष्टमार्टमको लागि पठाएर अनुसन्धान भइरहेको छ । यसअघि सुरेन्द्रले आफ्नी पत्नीको पनि हत्या प्रयास गरेको हमालले बताए ।