ब्लाष्ट टाइम्स : धरानबाट प्रकाशन हुने ब्लाष्ट टाइम्स दैनिकले “एकीकृत बस्ती निर्माणमा ढिलाई” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छा`पेको छ ।
जिल्लाको फालेलुङ गाउँपालीकामा निर्माण गर्ने भनिएको एकीकृत बस्ती निर्माण कार्यमा ढिलाइ भएको छ । त्यहाँका ४५ घर पहिरोको उच्च जोखिममा छन् । उनीहरुलाई सुरक्षित आवासको व्यवस्था मिलाउन एकिकृत बस्ती निर्माणको परिकल्पना तयार भएको थियो । तर गत बर्षको २७ भदौमा भीषण पहिरोको सामना गरेका पिडितले यस बर्षको वर्षायाम डर र त्रासबीच टारेका छन् ।


उद्घोष दैनिक : विराटनगरबाट प्रकाशन हुने उद्घोष दैनिकले “दशैं अवधिमा करणीका नौ घटना” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ ।
सुनसरीमा यस पटकको दशैं अघिल्ला वर्षहरुको दाँजोमा शान्तीपूर्ण बने पनि महिला हिंसा भने यसै अवधिमा बढेको छ । सुनसरी प्रहरीको भने अघिल्ला वर्षको अनुपातमा २०७५ को दशैं जिल्लाका लागि तुलानात्मक हिसाबले शान्त र मर्यादित देखिएको दाबी छ । समग्र रुपमा घटना र दुर्घटनासहित शान्ति सुरक्षाको अवस्थामा सुधार देखिए पनि दशैेंको अवधिमा जिल्लामा जबरजस्ती करणी घटना भने विगतको दशैंको भन्दा बढी देखिएको छ । सुनसरीमा दशैंको अवधिमा ९ वटा जबरजस्ती करणीका घटना भएका छन् ।


मर्निङ टाइम्स : धरानबाट प्रकाशन हुने मर्निङ टाइम्स दैनिकले “प्रशासन र उपमहानगरपालीका बिच टकराव” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ ।दशैं, तिहारको अवसरमा सुपथ मुल्यका पसलहरु सहित मनोरञ्जनात्मक रमाईलो उत्सव नाममा मेला सञ्चालनका लागि धरान उपमहानगरपालीकाले स्विकृति दिएपछि उत्पन्न विवादले सुनसरी जिल्ला प्रशासन र उपमहानगरपालीका बिचको टकराव सतहमा आएको छ । धरान उपमहानगरपालीका क्षेत्रमा यस्तो ३ वटा मेला लागेका मध्ये पब्लिक हाईस्कुलमा छिमेकि युवा समुहले लगाएको मेलाका बारेमा उत्पन्न विवादले प्रशासन र उपमहानगरपालीका बिचको टकराब सतहमा आएको हो । छिमेकीको मेला विवाद बढेर मंगलबार झडपको स्थिति समेत उत्पन्न भएको थियो ।

बिबेचना दैनिक : झापाबाट प्रकाशन हुने बिबेचना दैनिकले “चिया मजदुरले अझै पाएनन् दसैँ खर्च” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ ।
नेपाल चिया विकास निगमको टोकला चिया बगानमा कार्यरत मजदुरहरुले दसैँ खर्च नपाएको बताएका छन् । मेची नगरमा रहेको सो बगानमा २६१ जना स्थायी र २०० जना ज्यालादारी मजदुर कार्यरत छन् । श्रम ऐन २०७४ मा चिया मजदुरहरुले एक महिनाको पारिश्रमिक बराबरको रकम चाडपर्व खर्चबापत पाउने व्यवस्था भए पनि निगम व्यवस्थापनले नदिएको भन्दै मजदुरहरुले बगानमै पत्रकार सम्मेलन गरी आपत्ति जनाएका छन् । श्रम ऐनले चिया मजदुरका लागि न्यूनतम मासिक तलब १० हजार ७८१ रुपैयाँ र दैनिक ज्याला ३८५ रुपैयाँ निर्धारण गरिदिएको छ । मजदुरहरुले ऐनमा तोकिएबमोजिमको दसैँं खर्च माग्दा निगम व्यवस्थापनले कम्पनी घाटामा गएको भन्दै नदिएको नेपाल चिया मजदुर श्रमिक संघका वरिष्ठ उपाध्यक्ष मिलन राईले बताए ।