विराटनगर: दशैको मौका पारेर विराटनगर महानगरपालिकाले वडाअध्यक्षहरुलाई मोटरसाइकल उपहार दिएपनि महानगर नेतृत्व बिवादमा तानिएको छ ।

दशैको अवसर पारेर महानगरले १८ जना वडाध्यक्षलाई मोटरसाइकल उपहार दिएपछि महानगरका मेयर भीम पराजुली बिवादमा तानिएका हुन् । विराटनगरका १९ वडाअध्यक्षहरुलाई उपहार भन्दै मोटरसाइकल दिएको थियो । तर, वडा नम्बर ११ का प्रमुख तीर्थेन्द्र न्यौपानेले मोटरसाइकल लिन मानेनन् भने अन्य १८ जना अध्यक्षहरुले उपहार स्वरूप मोटरसाइकल लिएका थिए । ती १८ वटा मोटरसाइकल महानगरले सरकारी बजेटबाटै प्रदान गरेको मेयर पराजुलीले स्विकारेका छन् ।

उनले वडाध्यक्षहरूलाई काममा आउन र सेवाग्राहीहरूलाई छिटो भन्दा छिटो सेवा प्रदान गर्ने उद्देश्यले मोटरसाइकल प्रदान गरेको जिकिर गरे । उपहार भन्दै वडाध्यक्षहरूलाई बितरण गरिएको मोटरसाइलको मूल्य न्यूनतम २ लाख ८ हजार र अधिकतम २ लाख ९० हजार रुपैयाँ रहेको छ । उक्त मोटरसाइकलहरू सार्वजनिक खरीद ऐन अनुसारै खरीद गरिएको पनि मेयर पराजुलीले बताए ।