इटहरी: सुनसरीको इटहरी उपमहानगर २० तरहरा निवासी जसबहादुर राई र उनकी श्रीमति कमलाको सुमधुर सम्बन्धमा अहिले फाटो छ । बैदेशिक रोजगारीबाट मेहनत गरेर पठाएको पैसा श्रीमतिले परिवारको सल्लाह बेगर नै तरहराको एक सुन पसलमा मोटो ब्याज आउने प्रलोभनमा दिइन् । अहिले उक्त रकम माग्न जादा सुन पसलेले एकै पटकमा दिन नसक्ने, थोरै थोरै मात्र दिने भनेपछि परिवारमा सम्बन्ध बिग्रिएको छ ।
६ बर्ष अघि मलेसिया गएर फर्केदा उनले ९ लाख रकम कमाएका थिए । उनकी श्रीमतिले ५ लाख २० हजार सुन पसलमा धेरै ब्याज आउने लोभमा एक बर्षअघि जम्मा गरिन् । अहिले ब्याज त होइन, आफ्नो साँवा पैसा फिर्ता पाउन पनि सकेकी छैनन् । त्यहि पैसाको निहुँमा घरमा झगडा हुने उनी सुनाउँछिन् । प्रहरीमा उजुरी दिदा पनि आफ्नो पैसा नै नआउला भन्ने पीरले घटना बाहिर ल्याउन नचाहेको उनको भनाइ छ ।
तरहरामा पैसाको कारण घरबार बिग्रने, कलह हुनेको संख्या अहिले बढदो छ । तरहरा जनसहयोग लाइनका खेमराज अधिकारीको पीडा पनि उस्तै छ । श्रीमतिले दाइजोमा पाएको जग्गा बेचेर तत्काललाई सुन पसलमा ब्याज पाउने आशामा ९ लाख ५० हजार एक बर्षअघि जम्मा गरेका थिए । केही समय ब्याज पनि पाए । सुन पसलमा हुने बितिय कारोबार अवैध हुने भन्ने हल्ला सुनेपछि आफ्नो सबै पैसा फिर्ता माग्दा सुन व्यवसायीले समय लाग्ने बताउदै आएका छन् । उनको पनि लगानी जोखिममा परेकोले चिन्तित छन् । त्यही कारण श्रीमतिसँग झगडा हुने उनको पनि तितो अनुभव छ ।
अबैधरूपमा फस्टाएको बित्तिय कारोबारका कारण तरहरा र इटहरी क्षेत्रमा यो समस्या अहिले बिकराल देखिएको छ । समाजको अघि प्रतिष्ठा, मानमर्यादाका कारण सर्वसाधरणहरू घटना बाहिर ल्याउन चाहदैनन् । सर्वसाधारणको पैसा यसरी जोखिममा परेको लाख, करोडमा होइन, अरब नाघ्ने जानकारहरु बताउँछन् । लगानी भएको पैसा फिर्ता नहुदा घरबार नै बिग्रने भय पनि उस्तै छ । पीडक भनिएका व्यावसायीहरु पनि पैसा फिर्ता गर्न नसक्दाको चपेटामा छन् । लगानीकर्ता(पीडित)हरूले पैसा फिर्ता गर्न दिएको दबाब र तनाबले उनीहरूको पनि निद उडेको छ ।
पीडितहरूले जतिसक्दो चाडो आफ्नो रकम पाउनुपर्ने माग गरिरहेका छन् । पीडक भनिएकाहरु भने सबैको पैसा फिर्ताा गर्न समय लाग्ने बताउदै आएका छन । कम्तीमा ६ महिनादेखि एकबर्षको समय दिएमात्र सबै रकम फिर्ता गरिदिने तरहराका सुन ब्यापारी र रेमिटेन्स व्यापारीको भनाइ छ । सर्वसाधरणबाट उठाएको करोडौ रकम सुन व्यापारी तथा रेमिटेन्स व्यापारीहरूले आफ्नो फाइदाका ेलागि प्रयोग गरेका छन् ।

सर्वसाधारणको पैसा महल, जग्गा र गाडीमा लगानी

पछिल्लो समय तरहरा र इटहरी क्षेत्रमा भएको अवैध वित्तिय कारोबारका कारण सहरदेखि प्रतिष्ठित व्यापारीहरूको इज्जतमा नराम्रो धक्का परेको छ । इटहरीमा सिआइबीले छापा मारी अवैध बितिय कारोबारमा संलग्न एक दर्जन ब्यापारीहरूलाई पक्राउ गरी मुद्दा चलाइसकेपछि तरहरामा पनि यो बिवाद सुरूभएको थियो । सिआइबीले छानबिन गर्नुअघि र अवैध कारोबार गर्ने ब्यापारीहरूलाई पक्राउ गर्नु अघि तरहरा यो हल्ला एवम जानकारीबाट टाढै थियो ।
जब सुन पसलमा रकम जम्मा गर्नु अवैध या गैर कानुनी हो भन्ने जानकारी पाए तब इटहरी र तरहराबासीहरू आफ्नो लगानी फिर्ता माग्न दिनहु सुन ब्यापारीहरूकहाँ धाउन थाले । तर एकैदिन सय भन्दा बढी एउटै सुन पसलमा गएर आफ्नो लगानी फिर्ता माग्दा ब्यापारीहरू झसङ्ग भए । अवैधरुपमा बित्तिय कारोबारको पोल खुलेपछि व्यापारीहरुमा भागदौड मच्चिन सुरू भयो । तरहराबाट सुन कारोबार गर्दै आएका ब्यापारीहरू कार्वाही हुने डरले फरार हुने क्रम जारी छ । धेरै जसो सुन पसलेहरूले सर्वसाधरणको रकमबाटै आलिसान महल बनाएको हल्ला छ भने केहीले जग्गा जमिन जोडेको चर्चा पनि छ । केहीले चिल्लो कार किनेर त्यसैमा चढेर हिडिरहेका छन भने केहिले डिर्पाटमेन्ट स्टोर खोलेर कारोबार गर्दै आएका छन ।