ब्लाष्ट टाइम्स : धरानबाट प्रकाशन हुने ब्लाष्ट टाइम्स दैनिकले “महँगोमा काठमाडौं फर्किदै” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ ।
अन्य बेला राजधानी जाँदा न्युनतम भाडा लिने काउण्टरहरुले दशैं बिदा मानेर फर्किने यात्रुहरुबाट चर्को भाडा असुल्ने गरेका छन् । त्यसमा पनि यात्रुले रोजी सिट नपाउने गरेका छन् । राजधानी जाने सीमित सवारीका कारण यात्रुबाट चर्को शुल्क लिने गरेका छन् ।

उद्घोष दैनिक : विराटनगरबाट प्रकाशन हुने उद्घोष दैनिकले “सामान्य विवादमा हत्या” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ ।
गत कात्तिक २ गते दशैंको टिकाको दिन विराटनगर–९, हनुमान मन्दिरमा लागेको मेला हेर्न आएका राहुल भगतको हत्या संग्लन भएका आरोपमा मोरङ प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । मेलामा हिड्दा ठोक्किएको निहुँमा विवाद हुँदा विराटनगर–१४ का १९ वर्षीय राहुल भगतको हत्यामा संग्लन भएका आरोपमा प्रहरीले १८ वर्ष मुनिका पाँच युवासहित ६ जनालाई पक्राउ गरेको हो ।

मर्निङ टाइम्स : धरानबाट प्रकाशन हुने मर्निङ टाइम्स दैनिकले “कृषि पेसा घट्दै” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ ।
कृषि नेपालको आर्थिक विकासको महत्वपूर्ण आधार भएकैले यस क्षेत्रको विकासमा जोड दिनुपर्ने बेला आएको छ । कृषिप्रधान देशमा बर्सेनी कृषकलाई आफ्नो पेसा बनाउनेको संख्या घट्दो छ । २०६८ को जनगणना अनुसार नेपालमा कृषिमा संलग्न जनसंख्याको प्रतिशत ६६ मात्रै छ । यो प्रतिशत विगतको भन्दा निकै कम देखिन्छ । कृषिको विकासका लागि कृषिजन्य उद्योगहरुको विकास जरुरी हुन्छ ।

बिबेचना दैनिक : झापाबाट प्रकाशन हुने बिबेचना दैनिकले “ कोसी राजमार्ग चीन जोडिन २३ किमि बाँकी” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ ।
दक्षिणमा भारतसँग जोडिएको कोसी राजमार्ग अब उत्तरी सिमाना चीन जोडिन २३ किमि बाँकी छ । मोरङको रानीबाट सुरु भएको यो सडक उत्तरमा संखुवासभाको किमाथांकासम्म पुग्नेछ । जम्मा तीन सय ९० किमिमध्ये तीन सय ६७ किमि ट्रयाक खोलिसकिएको उत्तरदक्षिण (कोसी) सडक आयोजनाका प्रमुख इन्जिनियर पशुपति ज्ञवालीले बताए । ०६५ मा खाँदबारीमा स्थापना भएको उत्तर–दक्षिण (कोसी) सडक योजनाले खाँदबारीदेखि किमाथांका नाकासम्मको सडक मात्रै हेर्छ । खाँदबारीसम्म सार्वजनिक सवारी चलिरहेको छ । खाँदबारीबाट ८० किमि उत्तर वरुण नदीसम्म पनि यातायातका साधन सञ्चालनमा छन् । खाँदबारी–किमाथांकाको दूरी एक सय ६२ किमि छ । त्यसमध्ये १ सय ४४ किमि ट्रयाक खोलिसकिएको ज्ञवालीले जानकारी दिए । प्रमुख इन्जिनियर ज्ञवालीका अनुसार वर्षा सकिएसँगै चाडपर्व आएकाले तीव्र गतिमा काम हुन सकेको छैन । उनले भने, ‘अब चाडपर्व सकिएपछि कामले गति लिनेछ ।’