इटहरी : सुनसरीको इटहरी चौकबाट पूर्वतर्फको तालतलैया सडक हुदै करीब १० किलोमिटर उत्तरतर्फ मोडिएपछि पुगिन्छ, एउटा सुन्दर गाउँ खोर्साने खाप । यो गाउँलाई पर्यटकीय हवको रूपमा तत्कालीन नगरपालिका हुदा कार्यकारी अधिकृत पशुपति खतिवडासहितको टोलीले निर्माण गरी स्थानीयलाई सुम्पिएका थिए । जाडो र गर्मी याममा आगन्तुक पर्यटकहरूलाृइ स्वागत गर्दै पूर्वमै नमुना सहर बनाउन चार बर्ष अघि होमस्टेको अवधारणा बनाइएको थियो । स्थानीय गाउँलेसँगै इटहरीबासी पनि निक्कै उत्साहित थिए । तर, अहिले खुर्सानेखापको होमस्टे अलपत्र अवस्थामा छ । आन्तरीक तथा बाह्य पर्यटकहरूलाई स्वागत गर्न १० वटा आवासको व्यवस्था गरिएको थियो । आफैले तयार गरेर शुरुवात भएको यो होमस्टेप्रति अहिले सम्बन्धित निकाय(उपमहानगर) लगायत सम्बन्धित निकायहरु बेखबर छन् ।

5 3
गाउँ गाउँमा सिंहदरबारको नारा दिइए पनि स्थानीय सरकारले यो होमस्टे सञ्चालनमा ध्यान नदिएको खोर्सानेखापबासीहरुको भनाई छ । सुरूवाती समयमा दैनिक ३० देखि ६० जनासम्म आन्तरीक पर्यटकहरू आउथे । अचेल भने न्युन संख्यामा मात्र पर्यटकहरु आउने गरेको होमस्टे व्यवस्थापन समितिका अध्यक्ष आशबहादुर धिमालले बताए । होमस्टे सञ्चालनको बिषयमा सहयोग गर्न उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीसँग धेरै पटक कुरा भएपनि सुनुवाई नभएको उनको गुनासो छ । ‘दुःख सुख होमस्टे चलाइरहेका थियौं, गत बर्षको भिषण बाढीले गाउँलाई नै नराम्रोसँग क्षति पुग्यो । पर्यटकहरुको आगमन घटेको छ,’धिमाल भन्छन् ।

3 18

खोर्साने खाप बुढी खोला र शेहरा खोलाको बीचमा अवस्थित गाउँ हो । वर्षातको बेला गाउँ दुवै खोलाको बाढीको चेपुवामा पर्ने गरेको छ । 

होमस्टेको लागि बनाईएको घरमध्ये ३ वटा घरमा गत बर्षको बाढीले क्षती पुर्यायो भने बस्ती नै जोखिममा पर्यो । अहिले पर्यटकहरूको लागि बनाइएको होमस्टे लथालिङ्ग बनेको स्थानीयहरू बताउँछन । पूर्वी तराइमा पहिलो पटक स्थापना भएको हो यो होमस्टे । अहिले भने कसैले चासो समेत नराखिदिंदा अलपत्र भएको समितिका अध्यक्ष धिमालको भनाइ छ । बाढीबाट भएको क्षति र होमस्टे सञ्चालनका लागि पर्याप्त बजेटसहित कार्यक्रमहरूको माग गर्दा उपमहानगरले अहिलेसम्म कुनै चासो नदिएको समितिका अध्यक्ष धिमालले बताए । ‘बाढीबाट जोगाउन उपमहानगरले अहिलेसम्म सय वटा तारजाली दियो, तर ढुंगा अहिलेसम्म व्यवस्था भएको छैन । त्यो जाली पनि त्यतिकै छ,’उनले भने ।
तत्कालिन कार्यकारी अधिकृत खतिवडाकै पहलमा उपमहानगरले खोर्साने खापसम्म पुग्ने सडक निर्माण, पोखरी, फुलवारी निर्माणजस्ता आकर्षण बढाउने काम गरेको थियो । अहिले पोखरी भैसी आहाल बस्ने ठाउँमा परिणत भएको छ । चारैतिर हरियाली, बिहानको समयमा बिभिन्न प्रजातिका चराचुरूङगी, खरायो, मृग लगायतका जनावरहरूको मनोरम दृष्यहरू अवलोकन गर्न सकिने खोर्साने खापको बिशेषता हो । पर्यटनको प्रचुर सम्भावना हुंदाहुदै पनि स्थानीय सरकारले चासो नदिदा खोर्साने खापको होमस्टे लोप भएर जाने खतरा बढेको छ ।

2 22 4 7 1 16