धरान:सस्तो बजार तथा सुलभ साँस्कृतिक उत्सवको नाममा धरान १२ मा लगाइएको मेलालाई सुरक्षा माग गर्दै धरान उपमहानगरपालिकाले जिल्ला सुरक्षा समितिमा पत्राचार गरेको छ ।

सुरक्षा माग गरेको पत्र लिएर बिहिबार कार्यवाहक प्रमुख मञ्जु भण्डारी आफै प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीलाई भेट्न इनरुवा गएकी थिइन् । उनीसँग वडा नं १२ र १६ का अध्यक्ष, निमित्त प्रशासकीय प्रमुख र वरिष्ठ प्रशासकीय अधिकृत पनि गएका थिए । धरानले मेलाको सुरक्षा माग गरेको बिषयमा अहिले इनरुवमा जिल्ला सुरक्षा समितिको बैठक चलिरहेको छ । बैठकले धरानको मेलासँगै चाडपर्वको समयको सुरक्षा संवेदनशीलतालाई लिएर छलफल भइरहेको प्रमुख प्रजिअ एवं सुरक्षा समितिका अध्यक्ष उप्रेतीले बताए ।

प्रजिअ उप्रेतीका अनुसार कार्यवाहक प्रमुख भण्डारीले सुरक्षा माग गर्दै दिएको पत्रको बिषयमा बिहिबार साँझ पनि सुरक्षा निकायहरुसँग छलफल भएको थियो । उपमहानगरपालिकाले मेला आयोजनालाई प्रतिष्ठानको बिषय बनाउनु शोभनिय नभएको उप्रेतीको भनाई छ । ‘मेलालाई प्रतिष्ठाको बिषय नबनाउनुस्, विकास निर्माणको काममा कही कसैले अवरोध गरे हामी सुरक्षा दिन तत्पर छौं,’प्रजिअ उप्रेतीले भने,‘तर, कुण्डले मुण्डलेको दबदबा हुने खालको मेलामा सुरक्षा दिन सकिदैन भनेर हिजो पनि आग्रह गरेको छुँ ।’

9 1

सुरक्षा समितिको बैठकमा विविध बिषयहरु भएपनि धरानको मेलाको बिषय प्रमुख एजेण्डा बनेको छ । बिहिबार राती पनि धरानमा कुखुरी प्रहार भएको घटनाले सुरक्षा चुनौतीप्रति सुरक्षा निकाय गम्भीर भएको प्रजिअ उप्रेतीले बताए । ‘यस्तो घटना भइरहेको छ, मेला लगाएर झन् सुरक्षा चुनौती थपिन्छ,’उनले भने,‘हामी छलफलकै क्रममा छौं, तर मेलाको बिषयमा पोजेटिभ छैनौं ।’

नगर कार्यपालिकाले धरान १२ स्थित छिमेकी युवा समुहलाई सस्तो बजार तथा सुलभ साँस्कृतिक उत्सव नाम गरेको मेला आयोजना गर्न दिने निर्णय गरेको थियो । यो निर्णय भएको सार्वजनिक भएलगत्तै नेपाली कांग्रेस, संघीय समाजवादी फोरम, संघीय लिम्बुवान मञ्च, वाइसिएल, मंगोल नेशनल अग्रनाइजेशन, जनमुक्ति पार्टीलगायत दल तथा संगठनहरुले चर्को विरोध गरिरहेको छ । विरोधका बीच पनि गएको सोमबार धरान १२ स्थित पब्लिक स्कुलको मैदानमा मेला शुरुवात भएको थियो । तर, भोलीपल्टै(मंगलबार) मेला प्रवेश गर्ने मुलगेट तोडफोड हुनुका साथै झडप पनि भएको थियो । मेला आयोजना र विरोधी दुवै पक्षका २ जना घाइते पनि भएका थिए । यो घटना लगत्तै मेला प्रहरीले नियन्त्रणमा लिएर ताला लगाएको छ ।