इटहरी: नेपाल तरुण दलको ६५ औं स्थापना दिवसको अवसरमा इटहरीमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा एक सय ५१ जनाले रक्तदान गरेका छन् ।

नेपाल तरुण दल इटहरी उपमहानगरपालिका कार्य समितिको आयोजना तथा सुनसरी क्षेत्र नम्वर २ र ३ को संयोजनमा रक्तदान कार्यक्रम भएको थियो । तरुण दलको स्थापनाको अवसर पारेर हरेक वर्ष तरुण दलका विभिन्न तहबाट सुनसरीमा विभिन्न सामाजिक कार्य गर्ने गरिएको तरुण दल सुनसरीका सभापति सिजन गुरुगले जानकारी दिए ।

रक्तदान नेपाल रेडक्रस सोसाइटी धरानको प्रविधिक सहयोगमा भएको थियो । तरुण दल इटहरीका सभापति विष्णु खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काग्रेस प्रदेश नं १ का संसदीय दलका नेता राजीव कोइराला, प्रतिनिधिसभा सदस्य सिताराम मेहता, टे«ड युनियन कांग्रेसका उपमहासचिव ज्योति कोइराला, नेपाली काग्रेस सुनसरी क्षेत्र नम्वर २ का सचिव रमेश पोखरेल लगायतका अतिथिहरुको उपस्थिति रहेको थियो ।