इटहरी: भारतसँगको जोगवनी र चीनसँग किमाथांका नाका जोड्ने व्यापारीक मार्ग विराटनगरको रानी जोगबनीदेखि धरानसम्मको ५० किलोमिटर व्यापारीक मार्ग विस्तार तीब्र गतिमा अघि बढीरहेको छ ।

पहिलो चरणमा विराटनगरको रानीदेखि सुनसरीको इटहरीसम्मको कुल ३० किलोमिटर सडक विस्तारको काम चालु अवस्थामा रहेको छ । यो राजमार्ग विस्तारको काम इटहरी आइपुग्दा समस्यामा परेको रानी-विराटनगर-इटहरी-धरान सडकखण्ड व्यापारीक मार्ग विस्तार आयोजना कार्यालय इटहरीले जनाएको छ । योजना अनुरूप काम गरिरहदा इटहरीमा भएको खानेपानी पाइप उठाउन र बिजुलीको पोल हटाउने काम मुख्य चुनौती बनेको परियोजनाको कार्यालय इटहरीले जनाएको छ । कठिन परिस्थितिहरूलाई पार गर्दै यहाँसम्म आइपुग्दा चुनौतीका चाङहरू थपिने क्रम जारी रहेको कार्यालय प्रमुख दिपक भट्टराइले बताए ।

उनका अनुसार अहिले सडकको दुवैपट्टी नाला खन्ने काम अन्तिम चरणमा पुगेको छ । तर केही स्थानमा भने खानेपानीको पाइप तथा बिजुलीको पोल मुख्य चुनौती बनिदिएको छ । परियोजना प्रमुख भट्टराईका अनुसार सडकसँगै पैदल यात्राका लागि फुटपाथ र ढलसमेत रहने योजना छ । सडकको दायाँबायाँ तीन तीन लेन हुने र मध्य भागमा दुई तिर सडक विभाजित गर्ने कङ्क्रिटका डिभाइडरको संरचनासँगै सडकको दुवैतिर बिरुवा रोपेर हरियाली पारिने योजना छ । तर मुख्य बजार क्षेत्रमा भने जग्गा अभावले गर्दा हरियाली नहुने र फुटपाथ पनि साँघुरो हुने सम्भावना बढेको देखिन्छ । डिजाइन अनुसार छ लेन सडक विस्तार गर्दा आयोजनाले सडकको केन्द्रबाट दायाँबायाँ २५/२५ मिटर विस्तार गर्ने योजना बनाएर काम अघि बढाइरहेको छ ।

IMG_20180924_115809 copy

उक्त सडक बिस्तारकालागि दिएको ७ बर्षको समयमा ५ बर्ष बितिसकेको र बाकी २ बर्षमा धरानसम्म नपुगे पनि तरहरासम्म आइपुग्नेमा आफु बिश्वस्त रहेको भट्टराइको भनाइ छ । सडक बिस्तार भएर आउदै गर्दा सुनसरीको दुहबीमा केही तनाव झेल्नु परिरहेको र जग्गा अभाव रहेको देखिएको छ । सडक विस्तारका लागि चालु आर्थिक वर्षमा दुहबीको उत्तरदेखि इटहरीको मूलचोकभन्दा केही दक्षिणसम्मको ठेक्का लागिसकेको छ । दुहबीदेखि इटहरी र विराटनगर बजार क्षेत्रको सडक निर्माणका लागि यस बर्ष २ अर्ब २३ करोडमा ठेक्का लागेको बताइएको छ ।

यसअघि विराटनगरको रानीदेखि १५ किलोमिटर सडक २ अर्ब ८२ करोडमा ठेक्का लागेको थियो । विराटनगरदेखि इटहरीसम्मको २९ किलोमिटर सडक ठेक्का लागिसकेको छ । ठेक्का लागेको सडकमध्ये २०६९/७० देखि अघिल्लो वर्षसम्म लागेको १५ किलोमिटर सडकमध्ये सातवटा प्याकेजमा ठेक्का लागेको थियो । आव २०६९/७० देखि सुरु भएर २०७५/७६ सम्ममा यो सडक निर्माण पूरा गर्ने लक्ष्य राखिएपनि जग्गा अभावका कारण विगतको सर्भे डिजाइनमा केही परिवर्तन गर्नु परेकाले यसको निर्माणमा ढिलाइ भएको परियोजनाका प्रमुख भट्टराईको भनाइ छ ।