झापा: फिदिम नगरपालिकाबाट बितरण हुने सामाजिक सुरक्षा भत्ता मृतकको नाममा निकासा हुने गरेको प्रमाण फेला परेको छ ।
मृतकको नाममा निकाशा भएको उक्त रकम नगरपालिकाका लेखा अधिकृतले आफ्नो व्यक्तिगत खातामा जम्मा गर्ने गरेकोसमेत पाइएको छ । मृतकको नाममा निकासा भएको रकम नगरपालिकका लेखा अधिकृत पेम्बा शेर्पाको नीजि बैंक खातामा जम्मा गरिएको हो । बैंकहरुलाई आफैँले पत्र काटेर शेर्पाले उक्त रकम आफ्नो व्यक्तिगत खातामा ट्रान्सफर गरेका हुन् । यो घटना सार्वजनिक भएपछि सत्यतथ्य निकाल्न भन्दै फिदिम नगरपालिकाले छानबिन समिति गठन गरेको छ । फिदिम नगरपालिका ३ का वडाध्यक्ष तथा लेखा समितिका संयोजक नरेन्द्र गुरुङको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन भएको छ । समितिको सदस्यमा वडा नं. १० की वडाध्यक्ष र सदस्य सचिवमा आन्तरिक लेखापरिक्षक चन्द्र कुमार थापा रहेका छन् । समितिले सात दिन भित्रमा यथार्थ विवरण बुझाउनुपर्ने संयोजक गुरुङले बताए ।
आर्थिक बर्ष २०७३/०७४ को सामाजिक सुरक्षा भत्ता मृतकको नाममा भुलवस निकाशा भएको भन्दै शेर्पा आँफैले बैंकहरुलाई पत्र लेखेर आफ्नो व्यतिगत खातामा ट्रासफर गर्न लागाएका हुन् । फिदिम नगरपालिकको लेटरप्याड प्रयोग गरी शेर्पाले २०७४ असर २६ गते बैंकलाई पत्र लेखेर मृतकका नामको रकम आफ्नो खातामा ट्रान्सफर गर्न लगाएका हुन् । फिदिम नगरपालिकाको खातामा रकम ट्रान्सफर नहुने भएपछि व्यक्तिगत खातामा रकम ट्रान्सफर गर्न लगाएको शेर्पाको भनाई छ ।
यसरी निकाशा भएको एक चौमासिकको रकम मात्र शेर्पाले कार्यालयको खातामा जम्मा गरेको भौचर देखाएका छन् । एक चौमासिकमा नौ जना मृतकको नाममा निकाशा भएको ७२ हजार रुपैँया आफ्नो खातामा जम्मा गरेर पुन कार्यालयको खातामा जम्मा गरेको भौचर भेटिएको छ । तर, अरु चौमासिकमा मृतकको नाममा कति रकम निकासा भयो र यसरी निकास भएको रकम कहाँ जम्मा हुँदैछ भन्ने प्रमाण शेर्पाले देखाएका छैनन् ।
कार्यालयका प्रमुख प्रशासकीय अधिकृत घनश्याम उपाध्यायले मृतकको नाममा रकम निकासा हुनु नै गल्ती भएको र भुलबस मृतकको नाममा निकासा भएको रकमलाई व्यक्तिको खातामा ट्रान्सफर गर्नु अर्को गल्ति भएको बताएका छन् । आँफु कार्यालय प्रमुख भएर भर्खर आएकाले यसलाई बुझ्न नपाएकाले थप कुरा भन्न नसक्ने उनले बताए । लगत कट्टा गरेर मात्र सामाजिक सुरक्षा भत्ता निकास हुने भएकाले भुलबस मृतकको नाममा रकम निकास हुन नसक्ने बताइएको छ ।
कार्यालयबाट निकासा भइसकेको कुनै पनि रकम कार्यालयकै खातामा जम्मा गर्नुपर्ने हुन्छ । तर, शेर्पाले आफ्नो नीजि खातामा ट्रान्सफर गर्न लगाएका हुन् । रकम ट्रान्सफरको अधिकार कार्यालय प्रमुखलाई मात्र हुने भएपनि लेखा अधिकृत शेर्पाले आफ्नो खातामा आँफै रकम ट्रान्सफर गर्ने गरेका हुन् । लेखा अधिकृत शेर्पाले भने आफुले गलत नियत राखेर काम नगरेको बताएका छन् । खाता खोल्ने, खाता बन्द गर्ने, रकम ट्रान्सफर गर्ने, चेक काट्ने लगायतका काम लेखा अधिकृतको भएकाले सबै काम आँफै गरेको उनले बताए । यो आार्थिक बर्षमामा पनि मृतकको नाममा रकम निकासा भएको उनले बताए ।
कानुन भन्दा बाहिर गएर कुनै कर्मचारीले काम गरेको भए भारबाहीको भागिदार हुने नगर प्रमुख ओनाहाङ नेम्बाङले बताएका छन् । नगरपालिकाबाट यस्तो कार्य भईरहेको छ भन्ने जानकारी यो भन्दा अघि आफुलाई जानकारी नभएको उनको भनाई छ । कानुनी व्यवस्था अनुसार फिर्ता भएको रकम संघीय सञ्चित कोषमा दाखिला गर्नुपर्ने हुन्छ । तर, शेर्पाले नगरपालिकको सञ्चित कोषमा मात्र दाखिला गरेका छन् । यसरी जम्मा हुने रकम कार्यालयले लेखेको पत्रका साथ दाखिला गर्नुपर्ने भएपनि शेर्पाले कार्यालयको पत्र विना रकम जम्मा गरेको भौचर भेटिएको हो । संघीय सञ्चित कोषमा जम्मा हुनुपर्ने रकम लेखा अधिकृतले पहिले आफ्नो खातामा जम्मा गरेर कार्यालयको पत्र विना नगरपालिकाको कोषमा जम्मा गरेको पाइएको हो । यसरी दाखिला गरिएको रकम पनि स्रोत नदेखाई दाखिला गरिएकाले लेखा अधिकृतको कार्यशैलिप्रति गम्भिर प्रश्न उब्जिएको हो ।