इटहरीः आयोजक इटहरी क्रिकेट एकेडेमीलाई पराजित गर्दै प्रदेश नम्बर २ ले तेस्रो अण्डर १९ राष्ट्रिय इटहरी प्रिमियर लिग क्रिकेट प्रतियोगिताको उपाधी जितेको छ । सोमबार सम्पन्न फाइनल खेलमा इटहरीलाई १ सय १९ रनको फराकिलो अन्तरले पराजित गर्दै प्रदेश नम्बर २ ले उपाधीसहित नगद १ लाख ११ हजार र ट्रफी हात पारेको हो । यस्तै उपबिजेतामा सिमित भएको इटहरीले नगद ५५ हजार र ट्रफी हात पारेको छ । समापन कार्यक्रमका प्रमुख अतिथी राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्ट लगायतका अतिथीहरुले नगद तथा ट्रफी वितरण गरेका थिए । इटहरीस्थित नेपाल डिभिएम स्कूलको पिचमा टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश नम्बर २ ले निर्धारित २० ओभरको खेलमा ५ विकेट गुमाउदै २ सय १ रनको योगफल खडा गरेको थियो । प्रदेश नम्बर २ का लागी सोनु अन्सारीले सर्वाधिक ६० रन बनाउदा रबि शाहले ५९ रन बनाए । यस्तै अमित यादवले २८, बिकास दासले १९, बिवेक यादवले १३ र तिर्थराज दासले १० रन बनाए । बलिङतर्फ इटहरीका बिकल्प आचार्यले २ बिवेक हात पार्दा निशान महत, भुपाल लुइटेल र राज थापाले एक–एक विकेट लिए । जितको लागि २ सय २ रनको बिशाल लक्ष्य पछ्याएर जवाफी ब्याटिङ गरेको इटहरीले निर्धारित २० ओभरको खेलमध्ये १६ दशमलव २ ओभर खेल्दै सबै विकेट गुमाउर ८२ रन मात्र बनाउन सक्यो । यसअघि लिग चरणका खेलमा उत्कृष्ट प्रदर्शन गरेको इटहरीका लागि सुभाष यादवले ३२, गौतम शर्माले १७ र अलफाज मन्सुरीले १० रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो रनको स्कोर जोड्न सकेनन । बलिङतर्फ प्रदेश नम्बर २ का निखिल सिंहले ४ विकेट हात पार्दा गोमानन्द यादव र अदिल खानले २–२ विकेट लिए । फाइनल खेलको म्यान अफ द म्याच प्रदेश नम्बर २ का निखिल सिंह घोषित हुदै नगद २ हजार र ट्रफी पाए । प्रतियोगिताको उत्कृष्ट खेलाडी प्रदेश २ का रबि शाह घोषित हुदै नगद १० हजार र ट्रफी पाए । यस्तै प्रतियोगितामा उत्कृष्ट बलर प्रदेश २ का बिकास दास र उत्कृष्ट ब्याष्टमेन इटहरीका गौतम शर्मा घोषित हुदै नगद ५–५ हजार र ट्रफी पाएका थिए । समापन तथा पुुस्कार वितरण कार्यक्रम इटहरी क्रिकेट एकेडेमीका अध्यक्ष कैलाश विष्टको अध्यक्षतामा भएको थियो ।