धरान: धरान ८ स्थित सुनौलो आमा समुहले गृहणी महिलाहरुलाई एक दिने सुकुटी तथा अचार बनाउने तालिम दिएको छ ।
सीप अभिवृद्धि गरी आयआर्जन गराउने उद्देश्यले वडा नं ८ कार्यालयको सहयोगमा तालिम दिएको हो । तालिममा ३० जना भन्दा बढी गृहणी महिलाहरु सहभागी भएको अध्यक्ष नन्दमाया इवारम थेवेले जानकारी दिइन् । महिलाहरुको सीप वृद्धि गरेर आय आर्जन गर्ने उद्देश्यले तालिम दिएको उनले बताइन् । तालिम धरान ८ स्थित सुनसरी ताप्लेजुङ सरोकार समाजको भवनमा आयोजना भएको थियो ।
तालिम कार्यक्रमकी प्रमुख अतिथि एवं नगर कार्यपालिका सदस्य लिला गुरुङले उद्घाटन गर्दै तालिमले महिलाहरु आत्मनिर्भर हुन मद्दत पुर्याउने बताइन् । साथै, अन्य महिलाहरुलाई पनि प्रेरणा मिल्ने उनले बताइ । तालिम उद्घाटन समारोहमा कार्यपालिका सदस्य एवं न्यायिक समितिकी सदस्य सावित्रि परियार, वडा सदस्य राम थापा मगर, एमाले वडा कमिटि अध्यक्ष लक्ष्मण दासले पनि बोलेका थिए ।