धरान : बर्खाको समयमा बराहक्षेत्र(चतरा) नगरबासी र धरानको लागि अभिषाप बनेको सर्दु, पटनाली खोलासँगै धरानको ठकुरी खोलामा आगामी नयाँ बर्षमा भने खुशी छाउनेछ ।
नयाँ बर्ष २०७६ को शुरुवातसँगै यी तिनै वटा खोलामा निर्माणाधिन पुल सञ्चालनमा आउनेछ । जसले गर्दा आउदो बर्खामा बराहक्षेत्रबासी र धरानबासीहरुले सर्दु, ठकुरी र पटनाली खोलाबाट पाउने सास्तीबाट मुक्ति मिल्नेछ । अहिले यी तिनवटै खोलामा रसुवा कन्स्ट्रक्सनले पुल निर्माण गरिरहेको छ । ‘हामीले ३ बर्षभित्र पुल बनाउने सम्झौता हो, आउदो पुषसम्म महत्वपुर्ण स्ट्रक्चरको काम सक्छौं र बाँकी काम पनि चाडै सकिन्छ,’रसुवा कन्स्ट्रक्सनका सुपरभाइजर रामहरि रिमालले भने,‘नयाँ बर्षमा ३ वटै पुल सञ्चालन आइसक्छ, आउदो बर्खामा सर्दु, ठकुरी र पटनाली खोलाबाट कसैलाई पनि दुःख हुदैन ।’
निर्माण कम्पनीले अहिले धरान १७ स्थित ठकुरी खोला, सर्दु खोला र पटनाली खोलामा धमाधम पुल निर्माण कार्य गरिरहेको छ । यी खोलाहरु धरान र बराहक्षेत्रबासीका लागि ठुलो कहर बन्दै आएको थियो । बर्खामा धरानकै वडा नं १७ पर्ने पटनाली क्षेत्र र बराहक्षेत्र नगरपालिकासँग धरानको सम्बन्ध बिच्छेद हुने गथ्र्यो । ती क्षेत्रका बासिन्दाहरु भने शैक्षिक, व्यापारिक, स्वास्थ्यको हिसाबले धरान आउनुपर्ने बाध्यता हुन्छ । तर, खोलामा आउने बाढीले गर्दा उनीहरुले हरेक बर्ष बर्खाको समयमा दुःख झेल्दै आएका थिए । ‘पुल बन्यो भने त हामी बराहक्षेत्र, चतराबासीलाई धेरै ठुलो राहत मिल्छ । बर्खामा धरान चतरा बाटोमा आवतजावत गर्नै सकिन्दैन,’सुनसरी उद्योग वाणिज्य संघ, बराहक्षेत्र शाखा अध्यक्ष रमेश विष्टले भने,‘पुल बन्यो भने बषौंदेखिको हाम्रो सपना साकार हुनेछ ।’
निर्माण कम्पनीका सुपरभाइजर रिमालका अनुसार नयाँ प्रविधि बक्स गडर अनुसार सर्दु पुल निर्माण भइरहेको छ । यो प्रविधि नेपालमा भित्रिएको मात्र ३ बर्षजति भएको छ । सर्दुमा ५ वटा स्ल्याब निर्माण गर्नुपर्नेमा ३ वटा निर्माण सम्पन्न भइसकेको छ भने आगामी पुषसम्म थप २ वटा पनि सकिनेछ । ‘त्यसपछि फिनिसिङ र एक्सेस रोडको मात्र काम गछौं, र चैत, बैशाखमा ३ वटा पुल सञ्चालन हुन्छ,’रिमालले भने ।
निर्माणाधिन पुलमध्ये सर्दुको लम्बाई २ सय ५० मिटरको हो भने चौडाई सढो १० मिटर चौडाई(२ लेन)को हो । यस्तै, ठकुरी खोलाको पुल २५ मिटर र पटनाली खोलामा ४० मिटर लम्बाईको पुल हो । गत माघ महिनादेखि रसुवाले निर्माण कार्य थालेको थियो । धरान–चतरा सडकखण्डलाई समेटेर नेपाल सरकारले मदन भण्डारी राजमार्गको रुट बनाएपछि यी खोलामा पुल निर्माण प्राथमिकतामा परेको हो । यो राजमार्गअन्र्तगतको ४० भन्दा बढी पुलहरु रसुवा कन्स्ट्रक्सनले प्याकेजमा ठेक्का पारेको थियो । वडा नं १७ का अध्यक्ष मनोज भटराई तिनवटा पुल सञ्चालनमा आएपछि पुर्वभरौल, बराहक्षेत्रसँगै उदयपुरको बेलका नगरपालिकाका जनताले धरानबाट लिने सेवा सुविधामा सहज हुने बताउछन् । ‘त्यताका जनताले धरानबाट लिइरहेको सेवा सुविधा पाउन थप सहज हुन्छ, र धरानलाई पनि स्वास्थ्य, शिक्षा, व्यापारको हब बनाउछ,’उनले भने,‘निर्माण कम्पनीले पुष, माघतिर निर्माण कार्य सक्ने गरी काम गरिरहेको छ, हामीले पनि त्यही आशा गरेका छौं ।’


"नागरिक पुर्वीलीबाट"