काठमाण्डौं : स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) र एक्स्पो एण्ड इभेन्ट म्यानेजमेन्ट सर्भिस प्रालिले संयुक्त रुपमा हिमालयन हाइड्रो एक्स्पो २०१९ आगामी माघ पहिलो साता आयोजना गर्ने भएको छ ।
काठमाण्डौंको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा माघ ४ गतेदेखि ६ गतेसम्म एक्स्पो आयोजना हुने भएको हो । इपानका अध्यक्ष शैलेन्द्र गुरागाईका अनुसार थप ऊर्जा उत्पादन, लोडसेडिङको न्यूनीकरण तथा सरकारले अघि सारेको १० वर्षमा १५ हजार मेगावाट निर्माणको बाटोमा देश अघिबढेको बेला यो एक्स्पोले नयाँ आयाम दिनेछ । ऊर्जा क्षेत्रमा लागेका सवै सरोकारवालाहरुलाई एक ठाउँमा भेला गर्ने उदेश्य रहेको पनि उनले बताए ।
एक्स्पोमा एक सयभन्दा बढी स्टल रहने अनुमान गरिएको छ । एक्स्पोमा जलविद्युत प्रवर्धक, इक्युपमेन्टस सप्लायर, लगानीकर्ता, बैंक, विमा लगायत जलविद्युतमा नयाँप्रविधि र निर्माणसँग सम्बन्धित विविध स्टल राखिने भएको छ । ती स्टलमध्ये करिब आधा विदेशी स्टल रहनेछन् । २०१८ को एक्स्पोमा स्वदेशी तथा विदेशी गरेर एक सय भन्दा वढी स्टल थिए भने ५० हजार भन्दा धेरैले एक्सपो अवलोकन गरेको आयोजकको भनाई छ ।
यसपटकको एक्स्पोमा ऊर्जासंग सम्वन्धित नयाँ प्रविधिका साथै ग्रिड कनेक्टेड सोलार सिस्टम आकर्षण बन्नेछ । यसका साथै एक्सपो अवलोकनका लागि आएका इच्छुक अवलोकनकर्ताहरुलाईहेलीकप्टर मार्फत हाइड्रोपावर कम्पनीको समेत भ्रमण गराउने ब्यावस्था गरेको इपान अध्यक्ष गुरागाईले जानकारी दिए । विद्युतको सही व्यवस्थापन हुन नसकिरहेको सन्दर्भमा एक्स्पोले नयाँ प्रविधिका साथै सम्बद्ध पक्षको सहभागितामा नयाँ आयाम थप्न टेवा पुर्याउने विश्वास गुरागाईले लिएका छन् ।
एक्स्पोमा इन्जिनियरिङ संकायका विद्यार्थिहरुका वीचमा विभिन्न प्रतिस्पर्धा गरिनुका साथै हाइड्रोपावरका विषयमा जानकारी दिने स्टल पनि राखिने साथै हाइड्रोपावरमा आधुनिक प्रविधिको सम्भावित प्रयोग सम्वन्धमा समेत जानकारी दिइने छ ।