इटहरी : चाडपर्व शुरु भएसँगै प्रदेश १ का विभिन्न जिल्लाहरु महोत्सवमय भएको छ ।  चाडपर्वमा देश विदेशबाट घर फर्कनेहरुको संख्या बढ्ने र रमाइलो गर्ने वातावरण पनि हुने भएकोले यो मौकामा उत्सव, महोत्सवहरु आयोजना हुने गरेको छ । जिल्लाबाट उत्पादन भएको खाद्यान्न तथा लता कपडा, कलात्मक र उपयोगी बस्तुहरूको प्रदर्शनसँगै पर्यटन प्रर्वदनको नारासहित यस्ता उत्सव, महोत्सवहरु लाग्ने गरेको छ । सुनसरीको इटहरीमा हालमात्र दशै किनमेल महोत्सव सकिएको थियो । एक महिनासम्म चलेको महोत्सवले डेढ करोड बढी कारोबार गरेको आयोजक एरिना टिभिका प्रबन्ध निर्देशक समिर कार्कीले बताए ।

झापाको बुधबारेमा पनि पर्यटन महोत्सव जारी छ । दशै शुरू हुन अघिनै सञ्चालनमा आएको सो महोत्सव छैठको भोली पल्टसम्म सञ्चालन हुने आयोजक कमिटिले जनाएको छ । धरानको वडा नं ६ मा पानवारी महोत्सव जारी छ भने धरान १२ मा हुन लागेको सस्तो बजार तथा सुलभ उत्सव शुरु भएको भोलीपल्टै विवादको कारण स्थगित भएको छ । मोरङ, झापा, इलाम, ताप्लेजुङ, संखुवासभा, खोटाङ, पाँचथर,उदयपुर लगायतका जिल्लाहरुमा पनि विभिन्न उत्सव, महोत्सवहरु चलिरहेको छ । मोरङको उर्लाबारीमा पनि युवाहरूको समुहले लगाउने भनिएको सांस्कृतिक महोत्सव बिवादको कारण स्थगित छ । सुनसरीको दुहबीमा पनि सांस्कृतिक महोत्सवको तयारी भैरहेको छ ।