ब्लाष्ट टाइम्स : धरानबाट प्रकाशन हुने ब्लाष्ट टाइम्स दैनिकले “अन्तरजातीय विवाहले विस्थापित” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ । “अन्तरजातीय विवाह गरेकै कारण सुनसरीका एक जोडी देशबाटै विस्थापित हुनुपरेको छ । सुनसरी हरिनगर गाउँपालिका–६ का मुस्लिम केटा र उराँव केटीबीचको प्रेमविवाहपछि केटीपक्षको धम्की र झुटो मुद्दाका कारण नेपाल छाड्नु परेको हो । उनीहरुले चार महिनाअघि विवाह गरेका थिए । हरिनगर गाउँपालिका–६ का २१ वर्षीय सलमान अन्सारी र हरिनगर–७ की २० वर्षीय सुनिता उराँवबीच गत असार २९ गते झापा जिल्ला अदालतमा कोर्ट म्यारिज भएको थियो । तर केटी पक्षले प्रहरी र अदालतमा अपहरण गरेको मुद्दा हालेपछि यी जोडी ९ महिनादेखि भारतमा लुकीछिपी बस्दै आएका हुन् ।


मर्निङ टाइम्स : धरानबाट प्रकाशन हुने मर्निङ टाइम्स दैनिकले “शिक्षामा पनि वैदेशिक रोजगारी झैं लर्को” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ ।  नेपालमा वैदेशिक रोजगारीका लागि मात्र होइन । उच्च शिक्षा अध्ययनमा लागि विदेश जाने नेपाली विद्यार्थीको संख्या बढ्दै गएको छ । युवाहरुमा देखिएको विदेशप्रतिका आकर्षणलाई फेसनको रुपमा पनि टिप्पणी गर्न थालिएको छ । विद्यार्थीहरुमा विदेशको शिक्षाले संसारभरी मान्यता पाईने साथै संगै रोजगारी पाईने भएकाले पनि विदेशिने गरेको पाईएको हो । कक्षा १२ को पढाई सकाएका अधिकांश विद्यार्थीहरु अध्ययनका लागि विदेश जाने प्रकृयामा रहेका भेटिन्छन् ।


पूर्वी बजार : इटहरीबाट प्रकाशन हुने पूर्वी बजार दैनिकले “खरिद नियमावली मिचेर इटहरीको मेयर भवन निर्माण र एउटै भवन बनाउन ८ जनालाई ठेक्का” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा प्रकाशन गरेको छ । जनप्रतिनिधिलाई बस्ने ठाउँ नभएको कारण देखाउँदै इटहरीका मेयर र उपमेयरका लागि एउटा भवन निर्माणको लागि ७ जना ठेकेदारलाई जिम्मा दिएको भेटिएको छ । तत्कालीन कार्यकारी प्रमुख टीकादत्त राईको पालामा निर्माण कार्य शुरु भएको एउटा भवनको विभिन्न भागलाई वर्गीकरण गरी छुट्टाछुुट्टै निर्माणको जिम्मा दिइएको थियो ।

विवेचना दैनिक : झापाबाट प्रकाशन हुने विवेचना दैनिकले “ सिंहदरबार पर्खंदै झापाका सिम्लेबास” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ । झापाको कलम गाउँपालिका ५ की ६५ वर्षीया रनहाङ लिम्बूलाई गत स्थानीय तहको निर्वाचनताका गाउँगाउँमा सिंहदरबार आउँछ भन्ने नाराले खुब खिच्यो तर अहिलेसम्म गाउँमा कुनै परिवर्तन नदेख्दा भने उनी खिन्न छन् । बिरामी हुँदा अस्पताल जाने बाटो त छैन, कसरी आउँछ सिंहदरबार’, उनी प्रश्न गर्छिन्, ‘ पहिले त यो ठाउँ लखनपुर गाविसको १ नम्बर वडामा थियो । अहिले कमल गाउँपालिकाको वडा ५ भएछ । यत्ति हो परिवर्तन ।’ सिम्ले नामको यस गाउँका अधिकांश बासिन्दाको यही गुनासो छ अहिले । यस बस्तीका बासिन्दाको एउटै साझा माग हो, जग्गाधनी प्रमाणपूर्जा पाउनुपर्यो । तीन दशक पुरानो बस्तीका यहाँका सबैजसो परिवारको धनीपूर्जा छैन । ’वरिपरि खोलाले घेरेको छ । गाउँपालिकाको कार्यालयसम्म पुग्न पनि दमक नगरपालिकाको फेरो मार्नुपर्छ’, स्थानीय पवन गौतम भन्छन्, ‘ आफ्नै  गाउँपालिकाको बाटो हुँदै जानुपर्यो भने खोला तर्नुपर्छ, पुल छैन । पानी नहुँदा त ठिकै हो, पानी पर्यो भने सकिँदैन ।’ दमक हुँदै जान पनि सजिलो छैन ।


उद्घोष दैनिक : विराटनगरबाट प्रकाशन हुने उद्घोष दैनिकले “ जैनसभामा भाँडभैलो” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ ।  जैन श्वेताम्बर तेरापन्थ सभा विराटनगरमा भाँडभैलो सुरु भएको छ । सभाको वर्तमान कार्यसमितिले साधारणसभा नै नगराई नयाँ कार्यसमितिलको निर्वाचन गराउन खोजेपछि भाँडभैलो सुरु भएको हो । निर्वाचन तालिका अनुसार मंगलबार मतदाता नामावली प्रकाशित गर्नु पर्नेमा निर्वाचन समितिले मंगलबार विहान १० बजे जैन भवनमा नामावली टाँस गरेकोमा असन्तुष्ट पक्षले नामनवली नै च्यातिदिएको थियो ।