तेह्रथुम : तेह्रथुमका स्थानीय तहले दुग्ध प्रशोधन उद्योग खोल्न चासो देखाएका छन् । जिल्लाका विभिन्न स्थानमा उत्पादित दूध प्रशोधन गर्ने उद्योग सञ्चालन गरेर किसानलाई सहयोग गर्न जिल्लाका सबै स्थानीय तहका जनप्रतिनिधि सहमत भएका हुन् ।  कतिपय स्थानीय तहले भने यही आर्थिक वर्षमा दुग्ध प्रशोधन उद्योगका लागि बजेटको व्यवस्था गरेको समेत जनाएका छन् । राष्ट्रिय सहकारी महासंघ नेपालले म्याङलुङमा आयोजना गरेको सहकारीमा प्रभावकारी दुध आपूर्ति शृंखला व्यवस्थापन गोष्ठी किसान र व्यवसायीसँग छलफलपछि स्थानीय तहका जनप्रतिनिधिले किसान र व्यवसायीका समस्या सुल्झाउन प्रतिवद्धता जनाए । कार्यक्रममा बोल्दै लालीगुराँस नगरपालिकाका प्रमुख अर्जुन माबोहाङले नगरपालिकाले सहकारी नीति बनाइसकेको र तिनको प्रवद्र्धन गर्दै दुग्ध क्षेत्रलाई व्यवसायिक बनाउन समेत नगरपालिकाले सहयोग गर्ने बताए ।


छथर गाउँपालिकाका अध्यक्ष सन्तवीर लिम्बुले आफ्नो गाउँपालिका दुधको पकेट क्षेत्र भएको भन्दै अब ब्लकको रुपमा विकास गर्न विशेष कार्यक्रम तय गरेको बताए । उनले गाउँपालिकाले कृत्रिम गर्भधान, उन्नत जातको घाँसको खेती प्रवद्र्धन, दानामा ढुवानी अनुदान लगायतका कार्यक्रम मार्फत दुग्ध क्षेत्रको प्रवद्र्धन गर्न थालिएको बताए । कार्यक्रममा सहभागी म्याङलुङ नगरपालिकासहित मेन्छ्यायेम, फेदाप र आठराई गाउँपालिकाका प्रतिनिधिले समेत दुग्ध क्षेत्रमा उल्लेख्य सम्भावना रहेको भन्दै त्यो क्षेत्रलाई प्राथमिकतामा राख्ने जनाए ।
मेन्छ्यायेम गाउँपालिका–५ का वडाध्यक्ष शिवनाथ खापुङले गाउँपालिकाका किसानलाई दुग्ध क्षेत्रमा विकास गर्न सहयोग पु¥याउने कार्यक्रम बनाएको बताए । उनका अनुसार गाउँपालिका क्षेत्रमा चिस्यान केन्द्र निर्माण गरी दुध निकासीलाई बढाउने तयारी रहेको छ । स्थानीय तहका जनप्रतिनिधिले दुध र दुग्धजन्य बस्तुहरु छुर्पी, चीज र घिउ निकासीबाट पनि जिल्लाको संमृद्धि सम्भव रहेको बताए ।