ब्लाष्ट टाइम्स : धरानबाट प्रकाशन हुने ब्लाष्ट टाइम्स दैनिकले“प्रदेश १ मा कानून आफै बाधक” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ ।  कानून निर्माणमा प्रदेश १ अग्रणी भए पनि सम्बन्धित मन्त्रालयले नियमावली नबनाउँदा बनेका कानून कार्यान्वयनमा चुनौती देखिएको छ । प्रदेश १ सरकारका मन्त्रालयहरुले प्रदेशसभामा ल्याएका विधेयक विभिन्न चरण पार गर्दै ऐन बने पनि कार्यान्वयनमा जटिलता देखिएको हो । प्रदेश सरकार सञ्चालनका लागि आवश्यक कानून निर्माणमा ध्यान केन्द्रित हँुदा कार्यान्वयनका लागि आवश्यक पर्ने नियमावली, कार्यविधि र निर्देशिका निर्माणमा चुकेको आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले स्वीकारेका छन् ।


औजार दैनिक : धरानबाट प्रकाशन हुने औजार दैनिकले “प्रदेशको योजना आयोग गठन” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ ।  १ नम्बर प्रदेश सरकारको बुधबार बसेको मन्त्रिपरिषद बैठकले प्रदेश योजना आयोग गठन गर्ने लगायतका विभिन्न १२ वटा निर्णय गरेको छ । बैठकले आयोगको गठन आदेश पास गर्दे उपाध्यक्षमा विराटनगर निवासी मानवअधिकारकर्मी सुबोधराज प्याकुरेल तथा सदस्यामा मीना भण्डारी र पूर्ण लक्समलाई नियुक्त गरेको छ ।


मर्निङ टाइम्स : धरानबाट प्रकाशन हुने मर्निङ टाइम्स दैनिकले “तिहारको तयारीमा उदाश अनुहारका रहर” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ । दशैपछिको नेपालीहरुका दोस्रो ठूलो पर्वको रुपमा तिहारको तयारी शुरु भएको छ । तिथि अनुसार आउँदो १९ गते सोमबार काग तिहार देखि यसको रौनकता शुरु हुन्छ । भाइटीका आउन भने दश दिन बाँकी छ । गाउँ घरमा रातो र कमेरो माटाले रंगाएका घरहरु हिजोआज कमै देखिन्छन् ।


उद्घोष दैनिक : विराटनगरबाट प्रकाशन हुने उद्घोष दैनिकले “कोइराला परिवारको उदाहरणीय काम, करोडौंको जग्गा विश्वविधालयलाई दान” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ । समाजमा जसरी भए पनि धन–सम्पत्ति कमाउनै पर्छ । भन्ने मानसिकता हाबी छ । त्यसमा पनि आफैं कार्यरत संस्थालाई करोडौं मूल्यको दान दिने व्यक्ति बिरलै भेटिन्छन् । तर स्वार्गीय नाराणप्रसाद र पद्मादेवी कोइरालाका सन्तती त्यस्तै बिरलै भेटिने पात्रका रुपमा देखिएका छन् । कोइराला परिवारले विराटनगर महानगरपालिका वडा नम्बर ८ अशोक चौकपूर्वको विश्वकर्मा चौकस्थित पाँच कट्ठा जग्गा केही साताअघि मात्रै पूविको नाममा रजिष्ट्रेशन पास गरिदिएका हुन् ।


विवेचना दैनिक : झापाबाट प्रकाशन हुने विवेचना दैनिकले “ फोनमा धम्क्याउनेलाई वडाध्यक्षले कार्यालयमै कुटे ” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ । इलामको फाकफोकथुम गाउँँपालिका वडा नम्बर २ का वडाध्यक्ष यामबहादुर पौडेलले स्थानीय एक युवकलाई कार्यालयमै कुटपिट गरेका छन्। घरमा बिजुलीको मिटर राख्ने सिफारिस लिन आएका वडा नम्बर २ का सुवास रिजाललाई वडाध्यक्ष पौडेलले कुटपिट गरेका हुन् । ‘विद्युतको मिटर राख्ने सिफारिस माग्न वडा कार्यालय गएको थिएँ, वडाध्यक्षले मैमाथि हात हाले’, पीडित रिजालले भने, ‘जिल्ला प्रहरी कार्यालयमा निवेदन दिन सदरमुकाम आएको हुँ ।’ रिजालले वडाध्यक्ष पौडेलमाथि कारबाही माग गर्दै बुधबार प्रहरीमा निवेदन दिएका छन् ।