पोखरा : पारस खड्काको कप्तानीमा रहेको चितवन राइनोजले नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) टी–२० क्रिकेट प्रतियोगितामा दोस्रो जित दर्ता गर्दा काठमाडौं रोयल्सले पहिलो हार बेहोरेको छ । १३ रनको जितसँगै चितवनले प्लेअफ पुग्ने सम्भावनालाई मजबुती प्रदान गरेको छ ।चितवनले काठमाडौं रोयल्सलाई १३ रनले पराजित गर्दै लिगमा दोस्रो जित दर्ता गरेको हो । जितका लागि अन्तिम ओभरमा १७ रन चाहिएको अवस्थामा काठमाडौंले ३ रनमात्र जोड्न सक्यो । काठमाडौका लागि गौरव तमोरले ३९ रनको योगदान दिए । मध्यम शुरुवात गरेको काठमाडौंका लागि पवन सर्राफ र गौरव तमोरले तेस्रो विकेटको लागि ५८ रनको साझेदारी गर्दै इनिङ्स उकासेका थिए ।

कप्तान ज्ञानेन्द्र मल्ल ३० रनमा करण केसीबाट बोल्डआउट भए । पवन सर्राफ २८ रन बनाए । ओपनर जयकिसन कोल्सवाला १८ रनमा पेभेलियन फर्किए । पृथु बास्कोटा ४ रनमा आउट भए । अमित श्रेष्ठ १ रनमा आउट भए । चितवनका करण केसीले ३ विकेट लिए । पारस खड्काले २ तथा सन्नी पटेल र स्मित पटेलले समान १ विकेट लिए । त्यसअघि पहिले ब्याटिङको निम्तो पाएको चितवनले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ४९ रन बनाएको थियो । हरिले सर्वाधिक ६० रनको अर्धशतकीय इनिङ्स खेले । ४९ बलमा हरिले ५ चौका र ३ छक्का प्रहार गरे । राम्रो शुरुवात गरेको चितवनका लागि ओपनर ब्याट्सम्यानद्धय अनिल कुमार साह र हरिशंकर साहले पहिलो विकेटको लागि ४२ रनको साझेदारी गरेका थिए । ७ ओभर २ बलमा अनिल साह पहिलो विकेटको रुपमा २७ रनमा आउट भए । कप्तान पारस खड्का १४ रनमा नन्दन यादवबाट बोल्ड आउट भए । हरि शंकर साह र स्मिथ पटेलले तेस्रो विकेटका लागि ५५ रनको साझेदारी गरेका थिए । स्मित पटेल ३१ रनमा रन आउट भए । सन्नी पटेलले १३ रन बनाए । काठमाडौंका नन्दन यादव, बसन्त रेग्मी र पवन सर्राफले समान १ विकेट लिए ।

45068301_301542387240262_3808772595751321600_n 1

" हाम्रो खेलकुदबाट साभार गरिएको "