धरान: धरान १२ स्थित पब्लिक हाई स्कुलमा दशैंतिहारको अवसरमा लगाउने भनिएको मेला अन्ततः नलाग्ने पक्का भएको छ ।

विवादसँगै मेलाकै बिषयमा झडप भएपछि चर्को आलोचना खेपिरहेको बेला आयोजक छिमेकी युवा समुह मेला सञ्चालनबाट पछि हटेको हो । छिमेकी युवा समुहले एक विज्ञप्ती प्रकाशित गर्दै सस्तो बजार तथा सुलभ साँस्कृतिक उत्सव विविध कारणले आयोजना हुन नसकेको जानकारी गराएको छ । समुहका अध्यक्ष राजेन्द्र राईले जारी गरेको विज्ञप्तीमा छिमेकी युवा समुहको पवित्र उद्देश्य नयाँ छिमेकी एम्बुलेन्स खरीद सहयोगार्थको लागि स्वीकृति प्रदान गर्ने नगर कार्यपालिका एवं जनप्रतिनिधिहरुलाई आभार व्यक्त गरिएको छ ।

ठुलो आर्थिक चलखेलसँगै पैसाको विवादले युवाहरुबीच मनमुटाव र झगडा निम्त्याएको भन्दै विगत ३ बर्षदेखि पब्लिक स्कुलमा हुदै आएको मेला प्रतिबन्ध लगाइएको थियो । यो बर्षभने दशैं अघि आकस्मिकरुपमा नगर कार्यपालिका बैठकमा एजेण्डाकोरुपमा प्रस्ताव लगेर छिमेकीलाई पब्लिक स्कुलमा मेला सञ्चालनको अनुमति दिइएको थियो । यो निर्णयसँगै उपमहानगरपालिका नेतृत्वको चर्को आलोचना भएको थियो भने प्रहरी प्रशासनले पनि सुरक्षा चुनौती बढेको भन्दै मेलाको सुरक्षा दिन नसक्ने अडान लिएको थियो । नेपाली कांग्रेस, संघीय समाजवादी फोरम, संघीय लिम्बुवानलगायत विभिन्न दलहरुरुले पनि विरोध जनाएको थियो ।

45179573_773266729686784_909210307019145216_o copy

विरोध हुदाहुदै पनि कार्तिक ५ गते मेला उद्घाटन भएको थियो । तर, भोलीपल्ट नै विरोधी विभिन्न पार्टीका युवाहरुले प्रवेश गेट तोडफोड गर्नुको साथै प्रहरीसँग झडप भएको थियो । यस्तै, मेला आयोजक पक्ष र विरोधी पक्षका एक एक जना युवा घाइते भएका थिए । स्थिति नियन्त्रणमा लिन प्रहरीले ५ राउण्ड अश्रुग्याँस प्रहार गर्नुपरेको थियो । यो घटनापछि मेला आयोजनास्थल प्रहरीले कब्जामा लिएको थियो । छिमेकी युवा समुहले एम्बुलेन्स खरीद गर्न मेला स्वीकृति पाएपनि प्रहरीको मोस्टवान्टेड सुचीमा रहेका एमाले र कांग्रेसका केही युवाहरुको भित्रिरुपमा लगानी थियो । विवादको मुख्य जड नै यही थियो । विगतमा मेला स्वीकृति दिदा कर्मचारी, दलीय संयन्त्रमा रहेका नेता र पार्टीहरुले आयोजकबाट मनग्ये पैसा लिने विकृति मौलाएको थियो भने विभिन्न युवा समुहहरु पनि आयोजकबाट पैसा र स्टल लिने गर्थे ।