इटहरी : स्काभेटर कम्पनी देवज्योती ग्रुपको प्रादेशिक कार्यालय १ नं प्रदेशको इटहरीमा शुक्रबारदेखि भाजुरत्न एजेन्सीको नामबाट सञ्चालनमा आएको छ । शाखा सञ्चालनमा आएसँगै अब स्काभेटर व्यावसायीहरूले चाहिने सामग्रीहरू लिन काठमाण्डौसम्म धाउन नपर्ने भएको छ । देवज्योतिका उपाध्यक्ष निराजन रूपाखेती, स्काभेटर व्यावसायी महासंघका उपाध्यक्ष धर्मेन्द्र श्रेष्ठले संयुक्त रूपमा रिबन काटदै प्रदेशिक कार्यालयको उदघाटन गरेका थिए । कम्पनीका अनुसार एकसाताको अवधीमा भैरहवा, पोखरा र इटहरी गरेर ३ वटा प्रादेशिक कार्यालयहरू सञ्चालनमा आइसकेको छ ।

स्काभेटर तथा सम्पुर्ण पार्टसहरू एकै ठाउँबाट उपलब्ध गराउने उद्देश्यले प्रदेश १ को केन्द्र मानिएको इटहरीमा प्रादेशिक कार्यालय सञ्चालनमा ल्याएको प्रबन्धक अरबिन्द श्रेष्ठले जानकारी दिए । बाहिरबाट स्काभेटर खरीद गर्दा झण्डै डेढ करोडसम्म पर्ने तर इटहरीबाट खरीद गर्नुपरेमा ९० लाखसम्ममा उपलब्ध गराउन सकिने शाखा प्रबन्धक श्रेष्ठले बताए । उनका अनुसार प्रदेश १ को १४ जिल्लामा मात्रै १ सय २० देखि २ सय २० मोडलका ४० वटा भन्दा बढी स्काभेटरहरू प्रयोग हुदै आएको छ । मेसिनरी सामानहरू इटहरीबाटै उपलब्ध हुने भएपछि ब्यवसायीहरू पनि खुशी छन् । मोरङ बेलबारीस्थित धनमाया कन्ट्रक्सनका सञ्चालन उमेस तामाङ अब स्काभेटरमा लाग्ने पार्टसहरू लिन काठमाण्डौसम्म धाउनु पर्ने बाध्यताको अन्त्य भएको बताए ।