इटहरी: सुनसरीको इटहरीस्थित सबैभन्दा पुरानो बिद्यालयको इतिहास बोकेको जनता मावि अहिले प्रयोगविहिन बनेको छ ।

२०७२ बैशाख १२ गते आएको विनाशकारी भुकम्पबाट थलिएको इटहरीकै पुरानो शैक्षिक संस्था अहिले दयनीय र लथालिंग अवस्थामा छ । संरक्षण र पुनःनिर्माणको पर्खाइमा बिद्यालयका २ तले पक्की भवनहरू लथालिंग छ । भुकम्प पछि पुनःनिर्माणमा पहल हुन नसकेपछि सो विद्यालयको भवनहरु उपयोगमा आउन सकेको छैन । राज्यले शिक्षामा करोडौ लगानी गर्दै आएपनि शिक्षा आर्जन गर्ने थलोलाई भने वेवास्था गरिरहेको यहाँका सरोकारवालाहरूले बताउदै आएका छन ।

२०१३ सालमा निर्माण भएको उक्त विद्यालय दुई बर्षयतादेखि प्रयोग भएको छैन । २०७२ सालमा आएको भुकम्पले बिद्यालयको धेरै भागहरू चर्किएर जिर्ण बनेको थियो । त्यसपछि, केही समय बिद्यार्थीहरू खुल्ला चौरमा अध्ययन गर्न बाध्य बनेका थिए । विद्यार्थी र अभिभावकहरूको गुनासोलाई मध्यनजर गर्दै नयाँ भवनमा सारेपछि पुरानो भवन प्रयोग हुन छोडेको छ । भुकम्प पछि प्राविधिक टोलीले अनुगमन पश्चात बिद्यार्थीहरू उक्त भवनमा राखेर नपढाउन सल्लाह दिएको थियो । त्यसैअनुसार केही समय विद्यालय प्रशासनले खुल्ला चौरमै अध्यापन गराउदै आएको थियो । तर इटहरीकै वाड नं ९ मा नयाँ भवन निर्माण भई पठनपाठन सुचारू भएपछि पुरानो भवन त्यतिकै छाडिएको छ । अरबौको सम्पति रहेको सो बिद्यालय साढे ९ कट्ठा जमिनमा फैलिएको छ । जुन जमिनको मुल्य अहिले १ अर्ब माथि पर्न जान्छ ।

भुकम्पले थलिएको विद्यालयको भवनमा पिलर नभएको कारण भत्काएर पुन निर्माण गर्न समस्या भएको जनता माविका प्रधानाध्यापक छत्रपति ढुंगेलले बताए । उनले बिद्यालय भित्र रहेको झ्याल ढोकाहरू अहिले नयाँ बिद्यालयमा प्रयोग गरिएको जानकारी दिए । पिलर नभएको भवन भत्काउदा मजदुरहरूकै ज्यान जोखिममा पर्ने हुदा पुनःनिर्माणमा समस्या भएको प्रअ ढुंगेलको भनाई छ ।

अलपत्र र लथालिंग अवस्थामा रहेको भवनलाई पुन प्रयोगमा ल्याउन त्यसको मर्मत गरी नयाँ बिद्यालय बनाउने लक्षयसहित इटहरी मल्टिपल कलेजसँग सहकार्य भइरहेको प्रअ ढुगेलको भनाई छ । तर केही समय यता कलेजसँग सम्पर्क हुन नसक्दा थप समस्या भएको उनले बताए । यता सार्वजनिक जग्गाको खोजीमा जुटेको इटहरी उपमहानगर र स्थानीय सरकारका जनप्रतिनिधिहरुले पनि विद्यालयको अवस्थाप्रति चासो दिएको छैन ।