इटहरी: सुनसरीको इटहरीमा रहेको दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडले ४१ औं वार्षिक साधारणसभाको अवसर पारेर विभिन्न विद्यामा उत्कृष्ट आफना शेयर सदस्य र उनीहरुका सन्ततीहरुलाई सम्मान गरेको छ ।

विशेष गरी दुग्धजन्य वस्तुको कारोवारलाई प्राथमिकतामा राखेर कारोवार गर्दै आएको दुग्ध उत्पादक सहकारीले ज्येष्ठ शेयर सदस्यहरु फागुनी राई, राधादेवी भण्डारीका साथै अन्य विद्याका शेयर सदस्य र उनीहरुका सन्ततीहरुलाई सम्मान गरेको हो । साधारण सभाका अवसरमा उत्कृष्ट ऋणीतर्फ उत्तर राई, अर्जुन थापा , लक्ष्मीप्रसाद श्रेष्ठ र दुध खरिदतर्फ हेमसागर रायमाझी, दामोदर विडारी, लिला चौधरी, शान्दे शेर्पा, जयप्रसाद पौडेललाई पनि पुरस्कृत गरियो ।

यसैगरि, दुग्ध सहकारीलाई बढी दुध विक्री गर्ने नन्दकुमार राई, दुर्गामाया आर्चाय, मिना कोइरालालगायतलाई समेत कार्यक्रमका प्रमुख अतिथि विराटनगर दुग्ध विकास आयोजनाका प्रमुख निलकण्ठ गौतमले पुस्कार वितरण गरे । पुरस्कृत शेयर सदस्यहरुलाई पशुपालन सम्वन्धी विभिन्न किसिमका भाडाहरु पुरस्कार स्वरुप प्रदान गरिएको थियो । सहकारीका अध्यक्ष उमेश वस्तीको अध्यक्षतामा भएको साधारणसभामा हाल सहकारीमा ४ सय ८७ जना शेयर सदस्य रहेको जानकारी गराइएको थियो ।