ब्लाष्ट टाइम्स : धरानबाट प्रकाशन हुने ब्लाष्ट टाइम्स दैनिकले “बीपीमा बिरामीको चाप” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ ।  मौसम परिवर्तन भएसँगै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिरामीको चाप धेरै बढेको छ । चाप बढेको कारण अहिले प्रतिष्ठानमा बिरामीले सहज रुपमा उपचार गर्न कठिनाइ भएको छ । यो मौसममा पानीमा दूषित पदार्थ बढी हुने, ६० प्रतिशत बिरामी चिसोकै कारण निमोनिया, भाइरलका बिरामी आउने गरेको प्रतिष्ठानले जनाएको छ । ज्वरो अत्याधिक आउने, टाउको दुख्ने, कमजोरी हुने, रिङ्टा लाग्ने कसै–कसैलाई वान्ता हुने बिरामीहरु उपचारमा आउने गरेको चिकित्सकहरु बताउँछन् ।


मर्निङ टाइम्स : धरानबाट प्रकाशन हुने मर्निङ टाइम्स दैनिकले “१ रुपैयाबाट १ करोड ११ लाख” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ ।  धनकुटा नगरपालिका–९ मुलघाट स्थित विश्रान्ति वृद्धाश्रमको आधुनिकीकरणका लागि दश वर्ष अघि शुरु गरेको महत्वाकांक्षी आर्थिक योजना सफल भएको छ । विश्रान्ति आश्रम सञ्चालनक समितिको १ रुपैयाँ बाट १ करोड रुपैयाँ संकलन गर्ने योजनाले लक्ष्य समेत नाघेको छ । उक्त योजना आश्रमले २०६५ देखि शुरु गरेको थियो । दशवर्ष पछि अहिले आएर उक्त योजनाबाट संकलित रकम एक करोड ११ लाख ११ हजार १ सय रुपैयाँ पुगेको छ ।


औजार दैनिक : धरानबाट प्रकाशन हुने औजार दैनिकले “सिना मादेन  सम्मानित” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ ।  धरानकी तेक्वान्दो खेलाडी सिना मादेन लिम्बुलाई शनिबार सम्मान गरिएको छ । धरान समाज युकेले तेक्वान्दा मादेन लिम्बुलाई शनिबार प्रोत्साहन स्वरुप नगद ५० हजार ५ रुपैयाँले सम्मान गरेको जनाएको छ ।


उद्घोष दैनिक : विराटनगरबाट प्रकाशित उद्घोष दैनिकले “तानेर लतारेर राजधानी जाँदैन” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डिले कसैले तानेर, लतारेर वा निचोरेर प्रदेश १ को राजधानी विराटनगरबाट अन्त कतै पनि लैजान नसक्ने बताएका छन् । शनिबार विराटनगरको पुष्पलाल चोकमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रमका प्रमुख अतिथि बनेका मन्त्री पण्डितले कसैले चाहेर विराटनगरबाट राजधानी सर्न नसक्ने जिकिर गरेका छन् ।