विराटनगर : भारतको बथनाहाबाट विराटनगरको बुद्धनगर १८ सम्म रेल आइपुगेको छ । रेल्वे लिकको परीक्षण गर्नको लागि भारतीय रेलको इन्जिन पहिलो पटक विराटनगर आएको हो ।

केही समयअघि भारतको रेल्वे विभागको इन्जिनियरिङ र निर्माण कम्पनीको टोलीले रेलमार्ग जाँच गरेको थियो । उक्त जाँच पछि आज परीक्षणको लागि रेल आएको हो । भारत सरकारले मोरङको कटहरीसम्म ब्रोडगेज रेलमार्ग निर्माण गर्ने नेपाल सरकारसँग सम्झौता गरेको थियो । सोही सम्झौताअनुसार भारत सरकारले ४ अर्ब ४८ करोडको लागतमा बथनाहादेखि कटहरीसम्म रेलमार्ग निर्माण गरेको हो । रेलमार्ग निर्माण इरकोण इन्टरनेसनल फार्बिसगन्ज, भारतले ठेक्का पाएको थियो ।