इटहरी: तिहार नजिकिदै गर्दा पटका भित्र्याउन प्रहरी प्रशासनले कडाई गरेपनि अवैधरुपमा आयात हुन छोडेको छैन । इटहरीमा खुलेआमरुपमा पटकाको बिक्रीवितरण भइरहेको छ ।

इटहरीको बिराटनगर रोडस्थित व्यपारीहरूले बाहिर देखिने गरी पटाकाजन्य पदार्थहरू खुलेआम बिक्री बितरण गर्दै आइरहेको छ । व्यापारीहरूले खुर्साने बम, रकेट, झिरझिरे लगायत विष्फोटनजन्य पदार्थहरू बिक्री गरीरहेको छ । प्रहरीले दैनिक चेकजाच कडाइ बनाएपनि पटकाजन्य पदार्थहरू भित्रिन रोकिएको छैन । खुल्ला सीमाकै कारण इनरूवा हुदै इटहरीसम्म भारतीय ब्यापारीहरूले बिस्फोटक पदार्थहरू ल्याउने गरेको व्यापारीहरू बताउँछन् ।

व्यापारीले बिस्फोटक पदार्थहरू बिक्रीमा पनि बालबालिकाहरूको प्रयोग गर्ने गरेका छन् । अहिले इटहरीको बिराटनगर रोड, पश्चिम रोड, बालग्राम र तरहरामा पटाकाजन्य पदार्थहरू खुलेआम बिक्री भएको देख्न सकिन्छ । टहरीका व्यापारी नरेश साहका अनुसार आफुसँग खुर्साने बम लगायत सबै आइटम रहेको तर देखाएर बिक्री नगरेको बताउँछन् । झिरझिरे बम भने बालबालिकाहरूले मन पराउने भएकोले बाहिर देखाएर बिक्री गर्ने गरेको उनले बताए ।

इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी शिवकुमार श्रेष्ठले भने इटहरीमा पटाकाजन्य पदार्थ बिक्री बितरणमा कडाइ गरीएको दाबी गरे । दिपावलीलाई मध्यनजर गर्दै इटहरीमा झिलिमिलि बत्ती बाहेक अन्य कुनै बिस्फोटक पदार्थहरू बिक्री हुन नदिएको पनि उनको भनाई छ ।