ब्लाष्ट टाइम्स : धरानबाट प्रकाशन हुने ब्लाष्ट टाइम्स दैनिकले “घूससहित वन अधिकृत रङ्गेहात पक्राउ” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ ।  उदयपुरको एक सव–डिभिजन कार्यालयका सहायक वन अधिकृत ६० हजार घूससहित रङ्गेहात आइतबार पक्राउ परेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दीबास महोत्तरीको टोलीले कार्यालयको प्रमुख सत्यनारायण साह (रौनियार) लाई सम्पर्क कार्यालयबाट घूससहित पक्राउ गरेको हो ।


फास्ट टाइम्स : धरानबाट प्रकाशन हुने फास्ट दैनिकले “भारतीय प्रधानमन्त्रीको फेरि नेपाल भ्रमण यस पटक विराटनगर पनि आउने” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा टापेको छ ।  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मंसिर २६ गते नेपाल आउने भएका छन् । विवाह पञ्चमीको अवसर पारेर जनकपुर आउन लागेका मोदी प्रधानमन्त्री भएपछिको पाँचौ नेपाल भ्रमण हुनेछ । उनी यसपटक धार्मिकसँगै रेलमार्ग र विराटनगरको एकीकृत जाँच बिन्दु (आएसिपी) को उद्घाटन गर्न नेपाल आउन लागेका हुन् ।


औजार दैनिक : धरानबाट प्रकाशन हुने औजार दैनिकले “कानून मन्त्री विरुद्ध उजुरी फोन माफर्त धम्की दिएको आरोप” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ ।  प्रदेश १ का आन्तरिक मामिलामन्त्री हिक्मतबहादुर कार्की विरुद्ध नै उजुरी परेको छ । उनका विरुद्ध ज्यान मार्ने उद्योग अभियोगको उजुरी झापाको गौरादह इलाका प्रहरी कार्यालयमा उजुरी परेको हो । मन्त्री कार्कीले फोनमाफर्त ज्यान मार्ने धम्की दिएको भन्दै गौरादह २ का टंक खनालले मन्त्री कार्की विरुद्ध उजुरी दिएका छन् ।


मर्निङ टाइम्स : धरानबाट प्रकाशन हुने मर्निङ टाइम्स दैनिकले “चेलीहरुलाई भाइटिकामा महंगीको मार” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ । तिहारले धरान बजारलाई छोपिसकेको छ । बजारको चहल, पहलमा देखिने भिडभाडमा प्राय : तिहारको किनमेल गर्नेहरुको बाहुल्यता छ । त्यसमा अत्यधिक सहभागिता भाइटिकाको दिन आफ्नो माइती दाजु–भाइका लागि खानेकुरा देखि, उपहार दिने समाग्री किन्ने चेलीहरुका रहेका छन् ।


उद्घोष दैनिक : विराटनगरबाट प्रकाशन हुने उद्घोष दैनिकले “नागरिकता प्रकरणमा १६ जनालाई मुद्दा” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ ।  किर्ते गरी गैर नेपाली नागरिकलाई नागरिकता सिफारिस गरेको आरोपमा विराटनगर महानगरपालिका १ का अध्यक्ष उद्धव अर्यालसहित १६ विरुद्ध मुद्दा दायर गरिएको छ । मुद्दा दायर गरिएकाहरु मध्ये सत्यनारायण पोद्दार पक्राउ परेका छन् । वडाध्यक्ष अर्याल, वडा सदस्य रमेश साह, वडा सचिव पुष्पा तिम्सिनासहित अन्य फरार रहेको प्रहरीले जनाएको छ ।


विवेचना दैनिक : झापाबाट प्रकाशन हुने विवेचना दैनिकले “मानव अधिकारवादी नेता पद्मरत्न तुलाधरको निधन” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ ।  मानव अधिकारवादी नेता पद्मरत्न तुलाधरको निधन भएको छ । रगतको नशा ब्लक भएको, छातीमा इन्फेक्सन देखिएको, बायाँतर्फका शरीरका अंग चलाउन असजिलो भएपछि उनी केही दिनदेखि अस्पताल भर्ना भएका थिए । उनको उपचारको क्रममा आइतबार मध्याह्न निधन भएको नर्भिक अस्पताल स्रोतले जानकारी दिएको छ । सुरुमा माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालमा भर्ना गरिएका उनलाई पछि नर्भिक अस्पतालमामा रिफर गरिएको थियो । तुलाधर भाषा आन्दोलनबाट उदाएका नेता थिए । नेपाल भाषा मंकाः खलः को अध्यक्ष बनेर उनले भाषिक आन्दोलन सुरु गरेका थिए । तर, उनको परिचय त्यतिमा मात्रै सीमित भएन ।