इटहरी : बढदो सवारी साधनको चाप र स्थानीय पैदल यात्रुहरूको मार्कालाई ध्यानमा राख्दै इटहरीस्थित टेंग्रा खोलाको पुलको दुवै पट्टी फुटपाथ निर्माण गरिएको थियो ।

पैदलयात्रीहरूलाई सहज आवागमनको लागि तयार गरिएको उक्त फुटपाथमा पनि सवारीसाधनहरु गुड्न थालेपछि पैदल यात्रुहरु थप मारमा परेका छन् । साइकल र पैदल यात्रीहरू मात्र आवातजावतको लागि फुटपाथ निर्माण गरिएको थियो । तर, अहिले त्यहाँबाट मोटरसाइकल, सिटिसफारी र तीन चक्के टेम्पो पनि गुड्न थालेको छ । पैदल यात्रुहरुको लागि बनाइएको फुटपाथमा सवारीसाधानले नै कब्जा जमाएको छ । त्यहाँ पनि सवारी चापका कारण जाम हुने गरेको छ ।

निर्माण सम्पन्न भएको शुरूवाती समयमा २ जनासम्म ट्राफिक प्रहरी राखेर नियमित चेकिङ हुदै आएको थियो । अहिले भने कुनै पनि निकायले अनुगमन नगर्दा लापरवाही बढेको हो । राजमार्गबाट गुडने सवारीसाधनहरू फुटपाथबाटै गुडन थालेका छन् । यो फुटपाथ सडक विभागको ७५ लाख ६७ हजार लागतमा निर्माण सम्पन्न भएको थियो । फुटपाथ ३४ मिटर लम्बाई र साढे २ फिट चौडाईको पक्की छ ।

pool copy

छेउमै रहेको पूर्वपश्चिम राजमार्ग जोडने टेंग्रा पुल जीर्ण बनेपछि यात्रुबाहक बस तथा ठुला सवारीसाधनहरूमात्र सञ्चालन हुदै आएको छ । फुटपाथ बनेपछि सान साना सवारीहरु त्यहीबाट गुड्न थालेको छ । शुरुमा ट्राफिक प्रहरीले पैदल यात्रु र साइकलबाहेक अन्यलाई गुड्न दिएको थिएन, तर टेंग्राको मुख्य पुल जोखिम बनेपछि मोटरसाइकल, भेन, सफारी र टेम्पो लगायतले फुटपाथलाई प्रयोग गर्न थालेको हो । प्रहरीले पनि उनीहरुलाई रोकेको छैन ।

इटहरी उपमहानगरका मेयर द्वारिकलाल चौधरी टेंग्रा पुलको अवस्था जीर्ण रहेको कारण पुलको अवस्थालाई हेरेर साना सवारीहरू फुटपाथबाट गुडन थालेको बताउँछन् । उनले स्थानीय र पैदल यात्रुको समस्यालाई हेरेर प्रदेश १ को ट्राफिक प्रहरीसँग सहकार्य गरी समाधान खोजिने बताए । प्रदेश एक ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रमुख एसपी रवीकुमार पौडेल टेंग्रा पुलको अवस्था हेरेर केही बोल्ने अवस्था नरहेको बताउँछन् । सम्बन्धित निकायले सडकको अवस्था नहेरी सवारीसाधन दर्ता गरेर संख्या बढाएको कारण समस्या भएको उनको भनाई छ । समस्याबारे उपमहानगरसँग छलफल गरेर सामधान निकाल्ने एसपी पौडलले बताए ।